सञ्चारमाध्यमले सरकारका सकारात्मक कामको प्रचारसँगै कमजोरी, ढिलासुस्ती र अनियमिततामाथि खबरदारी गर्नुपर्ने

बनेपा, काभ्रे। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध लोकतन्त्र, नागरिक अधिकार, पारदर्शिता तथा जवाफदेहितामा आधारित हुनुपर्ने बताएका छन्। मदानी बिट मिडिया प्रालिको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री मगरले सञ्चारमाध्यमले सरकारका सकारात्मक कामको प्रचारसँगै कमजोरी, ढिलासुस्ती र अनियमिततामाथि खबरदारी गर्नुपर्ने बताएका हुन्। उनले सञ्चारमाध्यमलाई लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ, नागरिकको आवाज र राज्यलाई जवाफदेही बनाउने सशक्त माध्यमका रूपमा व्याख्या गरे।

प्रदेश सरकारका नीति, कार्यक्रम तथा योजनासँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका विषय जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो। सरकारले ल्याएका नीति तथा कार्यक्रमको प्रभाव नागरिकको जीवनमा कस्तो परेको छ भन्ने विषयमा पनि सञ्चारमाध्यमले निष्पक्ष रूपमा निगरानी र विश्लेषण गर्नुपर्ने उनले बताए।

स्थानीय सञ्चारमाध्यम कमजोर हुँदै जाँदा स्थानीय नागरिकका आवाजसमेत कमजोर हुने चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री मगरले स्थानीय सरकारको निगरानी, ग्रामीण क्षेत्रका समस्या, दुर्गम क्षेत्रका नागरिकका पीडा तथा स्थानीय विकासका सम्भावनालाई उजागर गर्न सञ्चारमाध्यम सशक्त हुनुपर्नेमा जोड दिए। त्यसैगरी, सरकारी विज्ञापन वितरणमा देखिएको असमानता अन्त्य गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सरकारी विज्ञापनलाई सार्वजनिक सूचना नागरिकसम्म पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताए।

कार्यक्रममा मदानी बिट मिडिया प्रालिका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रविधिको विकाससँगै अनलाइन पत्रकारिता सत्यतथ्य सूचना प्रवाह गर्ने छिटो, छरितो र प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको बताए। उनले नागरिकको सूचनाको हक स्थापित गर्ने, न्यायमा पहुँच सुनिश्चित गर्ने, नागरिकको जीवनस्तर उकास्ने तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानमा संस्था निरन्तर प्रतिबद्ध रहेको बताए। त्यस्तै, सम्पादक श्याम सापकोटाले डिजिटल युगमा सूचना प्रविधि र सामाजिक सञ्जालको विस्तारले सूचना प्रवाह सहज बनाए पनि गलत सूचना, भ्रामक सामग्री तथा अपुष्ट समाचारको जोखिम बढ्दै गएको बताए। उनले पत्रकारितामा सत्यता, विश्वसनीयता र निष्पक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

समारोहमा सहसम्पादकद्वय विकास तिमल्सिना र गोमा थापालाई नगदसहित सम्मान गरिएको थियो। कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला हिजो, आज र भोलिको अवस्थालाई समेटेर तयार पारिएको विशेष भिडियो सामग्रीसमेत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्पादक श्याम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मदानी बिटका अध्यक्ष मोतीराम तिमल्सिनाले गरेका थिए। सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राख्दै मदानी बिट डटकमले अघि सारेको ‘हरेक सूचनाको मन्थन, पारदर्शिता र निष्पक्षताको प्रवर्द्धन’ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष तिमल्सिनाले प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *