भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपद्का समयमा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन जिल्लाका सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री हस्तान्तरण गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खडकाले जिल्ला प्रशाशन कार्यालय परिसरमा आज एक समारोहवीच जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण तथा नेपाली सेनाको रणशेर गणका प्रमुख तथा प्रतिनिधिहरूलाई विपद् उद्धारमा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
विपद्का बेला तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहज हुने उद्देश्यले सुरक्षा निकायलाई सेफ्टी बेल्ट, फायर बल, इलेक्ट्रिक कटर, आल्मुनियम भ¥याङ, पेट्रोल कटर, मेघाफोन, फोल्डिङ स्ट्रेचर, बन्चरो र सर्च लाइटलगायतका सामग्री उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी खड्काले गृह मन्त्रालयबाट प्राप्त नौ लाख रुपैयाँंबाट ती सामग्रीहरु खरिद गरिएको जानकारी गराउनुभयो ।
उपलब्ध विवरणअनुसार सेफ्टी बेल्ट ५ थान, फायर बल ५ थान, इलेक्ट्रिक कटर ७ थान, आल्मुनियम भ¥याङ ४ थान, पेट्रोल कटर ४ थान, मेघाफोन ६ थान, फोल्डिङ स्ट्रेचर ४ थान, बन्चरो ६ थान र सर्च लाइट ५ थान रहेका छन् । यी सामग्रीमध्ये आवश्यकताअनुसार जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण र रणशेर गणलाई वितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खड्काले विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षा निकायलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । उपलब्ध उद्धार सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोग गर्दै विपद्का बेला छिटो तथा सुरक्षित रूपमा उद्धार कार्य सञ्चालन गर्न उनले सुरक्षा निकायका प्रमुखहरूलाई उहाँले आग्रह गर्नुभयो । भक्तपुरमा वर्षायाममा बाढी, डुबान, पहिरो तथा संरचना भत्किने लगायतका विपद्को जोखिम रहने भएकाले उद्धार सामग्रीको उपलब्धताले सम्भावित विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वयमा विपद् पूर्वतयारी, खोज तथा उद्धार र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।
भक्तपुरका सुरक्षा प्रमुखहरुलाई उद्धार सामग्री हस्तान्तरण











Leave a Reply