क्लोपलाई प्रशिक्षण सुरु गर्दा विद्यालयको अनुभव

लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यो सिजनको इंग्लिस प्रिमियर लिग सिजन
पूरा हुनेमा विश्वस्त रहेको दाबी गर्दै आफ्नो टिमलाई प्रशिक्षणमा उतारेका
छन् ।

अहिले सानो समूह बनाएर खेलाडीले बुधबारदेखि अभ्यास सुरु गरिसकेका छन् ।
क्लोपको टिम ३० वर्षयता पहिलोपल्ट लिग उपाधि चुम्नेबाट दुई जितमात्र टाढा
छ ।

कोरोना भाइरस संक्रमणको महामारीले खेल रोकिनुअगाडि लिभरपुल
लिगको बलियो स्थितिमा थियो । महामारी फैलिएको सुरुआती अवसरमा क्लोपले कोही
कसैको ज्यान बच्छ भने आफू लिग स्थगित गर्ने पक्षमा रहेको बताएका थिए । तर
अहिले स्थितिअनुकूल बनेको जर्मन प्रशिक्षक मान्छन् । उनले खेलाडीको
प्रशिक्षण सुरक्षित रहेको पनि दाबी गरे ।

उनले भनेका छन्, ‘फुटबल
फेरि सुरु गर्न हतार गर्नुहुन्न र हतार गरिएको पनि छैन । अहिले हामी फेरि
फुटबल फर्काउन पहिलो पाइला चालिरहेका छौं । हामीले सामाजिक दूरी कायम राखेर
नै अभ्यास सुरु गरेका छौं ।’ उनले प्रशिक्षण फेरि सुरु गरेको पहिलो दिन
आफ्ना लागि विद्यालयमा बिताएको पहिलो दिनजस्तै अनुभव भएको पनि बताए । उनले
थपेका छन्, ‘फुटबल नभएको पनि लामो समय भइसकेको छ । तर अहिलेसम्म जति काम
भएका छन्, त्यो सही दिशातर्फ नै अग्रसर छ । फुटबल अहिले मैदानमा फर्कने
संघारमा छ, यसले खेलप्रेमीलाई खुसी पनि तुल्याएको छ । मलाई पूरा विश्वास छ,
इंग्लिस प्रिमियर लिगमा जे भइरहेको छ, त्यो ठीक छ ।’

क्लोपले
कोही कसैको जीवनमा जोखिम उठाउनु पनि आवश्यक नभएको माने । उनको तर्क थियो,
‘हामीले चाह्यौं भनेमा हामी कसैको जीवन पनि जोखिममा राख्दैनौं । फुटबल
खेल्नु खेलाउनु हाम्रो काम हो, तर यो कसैको जीवनभन्दा ठूलो होइन । कसलाई
अहिले फुटबल खेल्न डर छ भने मैदानमा नआए हुन्छ ।’