मंसिर, काठमाडौं। नेपाली इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउँदै नेपाली इन्जिनियरहरूको विश्वव्यापी व्यावसायिक पहिचान स्थापित गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ परिषद्ले आयोजना गरेको दुईदिने कार्यशाला आज सम्पन्न भएको छ।
कार्यशालाको उद्घाटन सत्रका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुदन झाले कार्यशालाबाट प्राप्त निष्कर्ष तथा सुझावहरू राष्ट्रिय योजना आयोगमा समेत पेस गर्न आग्रह गर्नुभएको थियो।
नेपालमा विगतमा विश्वविद्यालयबाट चार वर्षे इन्जिनियरिङ वा पाँच वर्षे आर्किटेक्चर अध्ययन पूरा गरेपछि स्वतः इन्जिनियरको मान्यता प्राप्त हुने व्यवस्था थियो। तर, नेपाल इन्जिनियरिङ परिषद् ऐनमा संशोधन भएपछि विश्वविद्यालयको शैक्षिक उपाधि प्राप्त गर्नुका साथै परिषद्ले सञ्चालन गर्ने परीक्षा उत्तीर्ण गरेपछि मात्र इन्जिनियरको मान्यता प्राप्त हुने व्यवस्था गरिएको छ। तथापि, परिषद्बाट प्राप्त व्यावसायिक मान्यता हालसम्म नेपालभित्र मात्र सीमित रहेको छ।
यसका कारण नेपाली इन्जिनियरहरूलाई विदेशमा व्यावसायिक रूपमा काम गर्न तथा ठूला अन्तर्राष्ट्रिय परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न चुनौती भइरहेको छ। नेपाली इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा तुलनीय र मान्यताप्राप्त बनाउन नेपालका विश्वविद्यालयहरूबाट सञ्चालित इन्जिनियरिङ तथा आर्किटेक्चर कार्यक्रमहरूलाई वासिङटन एकर्ड (Washington Accord) को मापदण्डअनुरूप विकास गर्नु आवश्यक रहेको छ।
यसका लागि पाठ्यक्रम, शिक्षण–सिकाइ प्रक्रिया तथा विद्यार्थी मूल्याङ्कन प्रणालीलाई परिणाममा आधारित (Outcome-Based) बनाउनुका साथै यी तीनवटै पक्षबीच प्रभावकारी सामञ्जस्य कायम गर्नुपर्ने हुन्छ। सोहीअनुरूप पाठ्यक्रम, शिक्षकको क्षमता तथा विश्वविद्यालयको संस्थागत संरचनामा आवश्यक रूपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो।
नेपालका छिमेकी मुलुकहरू भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनले वासिङटन एकर्डको सदस्यता प्राप्त गरिसकेका छन्। नेपालमा पनि स्नातक तहमा इन्जिनियरिङ अध्यापन गराउने सबै विश्वविद्यालयहरूले परिषद्को यस पहललाई समर्थन गर्दै परिषद्सँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन्।
बंगलादेशलाई वासिङटन एकर्डको पूर्ण सदस्यता दिलाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका प्रा. सैफुल अमिनले कार्यशालाको प्रमुख स्रोतव्यक्तिका रूपमा सहभागीहरूलाई सम्बोधन गर्नुभएको थियो। उहाँले वासिङटन एकर्डको सदस्यता प्राप्त गर्न पूरा गर्नुपर्ने विभिन्न चरण, आवश्यक मापदण्ड तथा प्रक्रियाबारे विस्तृत जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाही र परिषद्का पूर्व कार्यकारी सदस्य इन्जिनियर देवराज जोशीले वासिङटन एकर्डको सदस्यता प्राप्तिका लागि परिषद्बाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, परिषद्का रजिस्ट्रार इन्जिनियर निरन महर्जनले कार्यशालाको उद्देश्य तथा अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।
कार्यशालाको समापन सत्रका प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. राजन सुवालले सहभागीहरूलाई प्रमाणपत्र तथा स्रोतव्यक्तिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। उहाँले नेपाली इन्जिनियरिङ शिक्षाको गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्तिका लागि परिषद्ले अघि बढाएको पहलको प्रशंसा गर्दै वासिङटन एकर्डको सदस्यता प्राप्त गर्ने अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।












Leave a Reply