भक्तपुर दुधपाटीमा नवनिर्मित थेरवादी विहार उद्घाटन, बुद्धमूर्तिको अनावरण

भक्तपुर — भक्तपुरको दुधपाटीस्थित बौद्ध समकृत विहार (कुथुबही) मा नवनिर्मित थेरवादी विहार भवनको उद्घाटन तथा नयाँ बुद्धमूर्तिको अनावरण गरिएको छ।२०८३ मंसिर १२ गते शनिबार आयोजित कार्यक्रममा नेपालका संघनायक श्रद्धेय भिक्षु बोधिसेन महास्थविरले रिबन काटेर नवनिर्मित विहार भवनको उद्घाटन गर्नुभएको हो। त्यसैगरी, विहार परिसरमा स्थापना गरिएको करिब सात फिट अग्लो सुनको जलप लगाइएको ढलोटको बुद्धमूर्तिको अनावरण अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष फ्राखु विशाल धम्मशोभन महास्थविरले गर्नुभएको थियो।

उद्घाटन तथा अनावरण समारोहमा भिक्षुसंघबाट सामूहिक बुद्धपूजा र परित्राण पाठसमेत गरिएको थियो।

त्यसपछि विहारको अगाडि रहेको नःपुखु ब्यांक्वेटमा औपचारिक समारोह आयोजना गरिएको थियो। बौद्ध संघ भक्तपुरका संस्थापक अध्यक्ष संघरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघनायक भिक्षु बोधिसेन महास्थविरले पञ्चशील प्रदान गर्नुका साथै शुभाशीर्वचन दिनुभएको थियो।

कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष फ्राखु धम्मशोभन महास्थविरले विहार निर्माण गर्नु ठूलो पुण्यको कार्य भएको बताउनुभयो। अखिल नेपाल भिक्षु महासंघका पूर्वमहासचिव भिक्षु कोण्डन्य महास्थविरले विशेष धर्मदेशना दिँदै बौद्ध संघ भक्तपुरले चन्दा संकलन र जनश्रमदानबाट करिब दुई करोड ७० लाख रुपैयाँ खर्च गरी विहार निर्माण गरेको बताउनुभयो। उहाँले यस निर्माण कार्यलाई बौद्ध क्षेत्रमा एउटा उदाहरणीय कामका रूपमा उल्लेख गर्नुभयो।

भिक्षु कोण्डन्य महास्थविरले बौद्ध संघ भक्तपुरले विगत ५५ वर्षदेखि भाषा, साहित्य तथा धर्मनिरपेक्षताको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो।

कार्यक्रममा भिक्षु विपस्सी महास्थविर र बौद्ध संघ भक्तपुरका संस्थापक सचिव प्रा. सिद्धिरत्न शाक्यले पनि मन्तव्य राख्नुभएको थियो।

समारोहमा विहार निर्माणका लागि आर्थिक तथा अन्य सहयोग गर्ने चन्दादाताहरूलाई धन्यवादपत्र प्रदान गरिएको थियो। संघका सचिव सुगतरत्न बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चन्दा आम्दानी तथा खर्चको विवरण धर्मचन्द्र शाक्यले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति संघरत्न शाक्यले सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सामूहिक पुण्यानुमोदनपछि समारोह समापन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *