भक्तपुरमा सकियो यस वर्षको खः प्याखँ जात्रा

भक्तपुर — सांस्कृतिक नगर भक्तपुरमा जीवित देवताका रूपमा पुजिने श्री नवदुर्गा देवगणको यस वर्षको खः प्याखँ जात्रा सम्पन्न भएको छ।

मंसिर १० गते बिहीबार साँझ ७ बजे भक्तपुर दरबार स्क्वायरस्थित तलेजु भवानीको मूलचोकमा देवगणहरूले परम्परागत खः प्याखँ नाच प्रदर्शन गरेका थिए। नवदुर्गा मन्दिर द्योछेंबाट प्रस्थान गरेका देवगणहरूले तलेजुको मूलचोकमा गहीँ नाचसहित विभिन्न परम्परागत नाच प्रस्तुत गरेका थिए।

जात्राको अवसरमा नवदुर्गा मन्दिरमा द्यः पूजा, आगः पूजा तथा यस वर्षको अन्तिम थाः पूजा सम्पन्न गरिएको थियो। परम्पराअनुसार भेडाको बलि दिएर दिनभरि पूजा गरेपछि जात्रा सुरु गरिएको थियो।

जात्राका क्रममा देवगणहरूले तलेजु भवानीको पूजा ग्रहण गरी मु वाहा लिकेगु जात्रा पनि सम्पन्न गरेका थिए। गहीँ नाचमा मानव समाजको पारिवारिक संरचना, रहनसहन र सामाजिक व्यवहारलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको थियो।

नाचमा भैरवनाथले परिवारको ज्येष्ठ नागरिकको भूमिका निर्वाह गर्ने परम्परा छ। महाकाली र बाराहीले नारी सौन्दर्य तथा क्रोधका पक्ष प्रस्तुत गर्छन् भने कुमारीले चेलीबेटीको भूमिका निर्वाह गर्छिन्। गणेशलगायत अन्य देवगणको पनि आआफ्नै सांस्कृतिक भूमिका रहने गर्दछ।

चा प्याखँ, कुमारी, भद्रकाली, ब्रह्मायणी र महेश्वरीका नाच प्रदर्शनपछि सिंह दुम्हाको आँगनमा महाकाली नाचको केही अंश प्रस्तुत गरिएको थियो। ऐतिहासिक किंवदन्तीअनुसार भेलु तंछायगु अर्थात् महाकाली तं मं विज्यामेगु जात्रा मध्यरातमा तलेजु भवानीको चोकबाट नवदुर्गा मन्दिरतर्फ प्रस्थान गरेसँगै यस वर्षको पहिलो खः प्याखँ जात्रा सम्पन्न भएको हो।

देवगण जात्रा तथा मन्दिर व्यवस्थापक संस्थाका सल्लाहकार नारायणमान वनमालाका अनुसार नवदुर्गा देवगणको जात्रा मानव समाजको पारिवारिक संरचना, सामाजिक व्यवहार, संस्कार र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गर्ने विशिष्ट सांस्कृतिक सम्पदा हो।

नवदुर्गा देवगणको जात्रा भक्तपुरमा मात्र सीमित नरही काठमाडौं उपत्यकाका विभिन्न स्थानमा समेत तिथि र परम्पराअनुसार सञ्चालन हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *