पत्रकारमाथि अभद्र व्यवहार र गालीबेइज्जती रोक्न माग

भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति भक्तपुरका सदस्यसहितका पत्रकारमाथि समाचार संकलनका क्रममा अभद्र व्यवहार गरिएको र त्यसपछि पनि सामाजिक सञ्जालमार्फत गालीबेइज्जती तथा धम्की दिने कार्य भइरहेको भन्दै तीन पत्रकार संगठनले आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्यसहित पत्रकारको टोलीमाथि भक्तपुरको नंखेल–निलन्चोकस्थित जग्गा विवादसम्बन्धी समाचार संकलनका क्रममा सशस्त्र प्रहरीका पूर्व एसएसपीले अभद्र व्यवहार गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यसपछि पनि पत्रकारलाई निरन्तर धम्की दिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको संगठनहरूले जनाएका छन्।

विज्ञप्तिअनुसार सामाजिक सरोकारको विषयमा गत कात्तिक १ गते शनिबार नंखेलस्थित जग्गाको सिमाना विवाद तथा नक्सापास नगरी भौतिक संरचना निर्माण भएको विषयमा समाचार संकलन गर्ने क्रममा करिब आधा दर्जन पत्रकारमाथि घटनास्थलमै अभद्र व्यवहार गरिएको थियो। त्यसपछि दैनिक सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरी बेइज्जत गर्ने प्रयास भइरहेको भन्दै संगठनहरूले घोर भर्त्सना गरेका छन्।

पत्रकारमाथि भइरहेको निरन्तर गालीबेइज्जती तत्काल रोक्न र क्षमायाचना गर्न संयुक्त प्रेस विज्ञप्तिमार्फत माग गरिएको छ। साथै, सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ। समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

संयुक्त विज्ञप्तिमा स्वतन्त्र पत्रकार संघ भक्तपुरका सचिव विकुराम तजले, प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष मदन दुंगाना र जनपत्रकार संगठन नेपालकी अध्यक्ष पुष्पा कुमारी साउदले हस्ताक्षर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *