भक्तपुर, ७ कार्तिक। विगत ६५ बर्ष अगाडिदेखि भाषिक र जातिय समानताका लागि आवाज बुलन्द गर्दै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५औं सम्मेलन ने.सं. ११४६ कौलाथ्व द्वादशी(२०८३ कार्तिक ६ गते) शुक्रबार भव्यतापूर्वक सम्पन्न भयो । वरिष्ठ साहित्यकार प्रा.नर्मदेश्वर प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा नेपालभाषा साहित्य क्षेत्रमा छ दशक अतुलनीय योगदान गर्ने भाषासेवी प्राध्यापक प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गरियो ।
विराट गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा पचिस जना साहित्यकारले साहित्य वाचन गरेका थिए । प्रतियोगितात्मक साहित्य प्रस्तुतिमा कविता विधातर्फ सविना महर्जन पहिलो, मिमला शर्मा दोस्रो सकुन्तला महर्जन र बसन्त नकर्मिले तेस्रो स्थान हासिल गरेका थिए भने कथा विधातर्फ राकेश महर्जन पहिलो, रासा दोस्रो र महर्जन रत्नले तेस्रो स्थान हासिल गरे । पुरस्कृत साहित्यकारहरूलाई पुरस्कार प्रदान गर्नुका साथै संस्थाको मुखपत्र ह्याउँबाला अङ्क ३५ र भाषासेवी प्रा. प्रेमशान्ति तुलाधर नामक पुस्तिका प्रमुख अतिथि प्रा.प्रधानबाट लोकार्पण भएको थियो । माध्यमिक शिक्षा परीक्षा(एस.इ.ई.)मा नेपालभाषा विषय लिइ उत्तीर्ण हुने विद्यार्थीलाई बर्सेनी प्रदान गर्दै आएको विराट नेपालभाषा पदक जगतसुन्दर ब्वनेकुथि, चागः काठमाडौँका विद्यार्थी फिदा खातुन (२०८१) र कजना श्रेष्ठ (२०८२)लाई प्रदान गरिएको थियो भने स्नात्तकोत्तर तहमा नेपालभाषा विषयमा सर्वाधिक अङ्कका साथ उत्तीर्ण हुनें सकुन्तला महर्जन (२०८१ र भिक्षु सोमरतन महर्जन (२०८२)लाई विराट सुरत्न सिरपाः प्रदान गरिएको थियो । सम्मेलनमा नेपालभाषाका लोकप्रिय गायकहरू सत्यनारायण मानन्धर, रिता महर्जन, पवित्र कसाः, प्रदीप शाक्य, रफेला महर्जन र निशान्त श्रेष्ठले गायन प्रस्तुत गर्नुृ भएको थियो । महेन्द्रराज शाक्यले सञ्चालन गरेको उक्त सम्मेलनमा विराटका उपाध्यक्ष कृष्णभक्त बोडेंले स्वागत र कोषाध्यक्ष रामगोपाल चगुठीबाट धन्यवाद ज्ञापन गरिएको थियो ।












Leave a Reply