हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व हरिबोधनी एकादशी आज श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको एकादशीका दिन मनाइने यस पर्वलाई ठूलो एकादशीका रूपमा समेत चिनिन्छ। धार्मिक मान्यताअनुसार यस दिन भगवान् विष्णु चार महिनाको योगनिद्राबाट जागृत हुने विश्वास गरिन्छ। हरिबोधनी एकादशीसँगै चतुर्मास व्रत समापन हुने भएकाले यस दिनको विशेष धार्मिक महत्त्व रहेको छ। यस अवसरमा गाउँघरदेखि सहरसम्म घरघरमा तुलसीको मठलाई सफा गरी फूलमाला, दीप तथा विभिन्न सजावटका सामग्रीले सिँगार्ने र तुलसीको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। श्रद्धालुहरूले तुलसीको मठमा दीप प्रज्वलन गरी पूजा, आराधना तथा भजनकीर्तन गर्ने गर्दछन्। कतिपय घरमा तुलसी विवाहसमेत गराई धार्मिक उत्सवका रूपमा मनाउने गरिन्छ। नेपालका विभिन्न मठमन्दिर तथा तीर्थस्थलमा पनि बिहानैदेखि भक्तजनहरू पूजाआजा, भजनकीर्तन तथा व्रतमा सहभागी हुने परम्परा रहेको छ। तुलसीलाई पवित्र एवं औषधीय गुण भएको वनस्पति मानिने भएकाले यसको पूजा र संरक्षणले धार्मिक तथा वातावरणीय महत्त्वसमेत बोकेको छ। हरिबोधनी एकादशीले धार्मिक आस्था, पारिवारिक एकता, संस्कार, संस्कृति तथा प्रकृतिप्रतिको सम्मानलाई जोड दिने सन्देश प्रदान गर्दछ। यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। हरिबोधनी एकादशीको हार्दिक मंगलमय शुभकामना! समाचार तथा प्रस्तुति: शारदा प्रसाद चालिसे
हरिबोधनी एकादशी आज, घरघरमा तुलसीको मठ सजाएर पूजा, तुलसी विवाहसँगै चतुर्मास समापन












Leave a Reply