भक्तपुर बाँसघारीमा आगलागी

भक्तपुर, वैशाख ८ — भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित सरस्वती खेल विनायक स्कुल पछाडि रहेको बाँसघारीमा आज अपराह्न अचानक आगलागी भएको छ।

आगलागीबाट बाँसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरबाट खटिएको दमकल टोलीले समयमै आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट जोगिएको हो।

दमकल दिउँसो २:३६ बजे घटनास्थलतर्फ प्रस्थान गरेको थियो भने आगो नियन्त्रणपछि ३:३५ बजे फर्किएको जानकारी दिइएको छ।

आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।