स्वास्थ्यका लागि खेलकुद ‘खेलकुद राष्ट्रका लागि’ भन्ने मूल नाराका साथ भक्तपुरमा छैटौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिटनेस–२०८३ शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताबारे आयोजकले आज सोमबार रफत सञ्चार क्लब सूर्यविनायक भक्तपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
भक्तपुर जिल्ला शारिरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुने प्रतियोगितामा भक्तपुर जिल्लाभित्रका विभिन्न क्लबबाट खेलाडी सहभागी हुने अध्यक्ष ज्ञानेन्द्र मानन्धरले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७० केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुने तथा महिला एथलेटिक्स फिजिक्सतर्फ खुला समूहमा प्रतिस्पर्धा गराइ मानन्धरले बताउनुभयो ।
कार्यक्रम संयोजक बाबुकाजी मानन्धरका अनुसार पुरुषतर्फ प्रत्येक तौल समूहका विजेताबीच ओभरअल प्रतिस्पर्धा गराइनेछ । ओभरअल विजेताले छैटौँ मिस्टर भक्तपुर–२०८३ को उपाधिसहित नगद १ लाख रुपैयाँ, ट्रफी तथा बायोनेट प्राप्त गर्नेछन् । दोस्रोदेखि पाँचौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
मानन्धरका आनुसार महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको अनुमानित बजेट करिब १५ लाख रुपैयाँ रहेको छ । विभिन्न संघ–संस्था तथा व्यक्तिको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको मानन्धरका भनाइ छ । प्रतियोगिताले भक्तपुरका खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै युवामा खेलकुदप्रतिको रुचि र उत्साह बढाउने मानन्धरले विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरमा आयोजना गरिने उक्त प्रतियोगितामा जिल्लाभित्रका करिब ६० जना खेलाडीको सहभागिता रहने मानन्धरले बताउनुभयो । प्रतियोगिताको पहिलो दिन असोज २ गते शुक्रबार क्लब डिस्पाराडोमा खेलाडीहरूको वेट राउण्ड तथा ड्रइङ लटको कार्यक्रम हुने मानन्धरले बताउनुभयो । असोज ३ गते प्रिजजिङ तथा फाइनल खेल हुने र तत्पश्चात् पाँच जना खेलाडी चयन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले २०८३ भदौ २६ गते शुक्रबारसम्म फारम बुझाउन सक्नेछन् । फारम अल्टिमेट फिजिकल फिटनेस, हुलाक रोड थिमि, क्लब डिस्पाराडो र भक्तपुर ब्यासीबाट उपलब्ध हुने आयोजकले जनाएको छ । प्रतियोगिताले भक्तपुरका शारीरिक सुगठन तथा फिटनेस खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा खेलकुदप्रतिको आकर्षण र उत्साह थप बढाउने आयोजकको विश्वास छ ।
भक्तपुरमा मिस्टर भक्तपुर तथा महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता हुने












Leave a Reply