वर्तमान परिपेक्ष्यमा बाैद्धिकहरुको भूमिकामाथि विचार गोष्ठी

सत्यराम कासिछ्वा

भक्तपुर, असोज २७

विजया दशमी २०८३ को शुभकामनासहित मंगलबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा जेन्युइन सेकेन्डरी स्कुलको सभाकक्षमा वर्तमान परिपेक्ष्यमा बाैद्धिकहरुको भूमिका माथि विचार गोष्ठी सम्पन्न भयो ।

प्रमुख अतिथि बिजुक्छेले विकसित देशमा घटनाको छलफल हुने तर नेपाल जस्ता देशमा घटनाको छलफल र सचेत नहुँदा पढेलेखेकाहरु पनि देश र समाज भन्दा बढि व्यक्तिवादी र समाजप्रति इमानदार नभएको दुष्ट प्रवृत्ति बढेको बताउँदै विरोधीहरुले गर्ने षड्यन्त्र तथा चलाखीप्रति सजग र सचेत हुनुपर्ने बताउनुभयो । बिजुक्छेले विद्यालयका संचालकसँगको असन्तुष्टिपछि विद्यालयको संरचना विगार्ने भत्काउने प्रवृत्तिमा समाजमा दुष्ट प्रवृतिका अभिभावक नै जिम्मेवार रहने बताउँदै स्वर्ग र ईश्वरको वास्तविकता तथा आफूले प्राप्त गरेको ज्ञानलाई सजगतामा प्रयोग नगरी त्यसको भ्रममा परि विश्वास गर्ने जमात रहँदा सरकारले जनताको हितका लागि काम गर्छ भनेर भ्रममा नपर्न सचेत गराउनुभयो । उहाँले “उच्च शिक्षामा सफलता पाउन व्यक्ति सक्षम हुन्छ तर समाज परिवर्तनको लागि खासै पहल नगर्दा उसले पाएकाे शिक्षाको कुनै अर्थ नलाग्ने हुन्छ” भन्नुभयो ।

लेखक योगेन्द्रमान बिजुक्छेले कार्यक्रममा स्वागत गर्दै वर्तमान समयमा नयाँ पुस्ताको अल्गोरिदम प्रवृत्तिमा रूमलिँदा आजको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, भूराजनीतिक तथा वैश्विक परिवेशमा व्यापक उतारचढाव आइरहेको तथ्यलाई टुलुटुलु हेरेर बस्न नहुने बताउनुभयो । लेखक योगेन्द्रमान बिजुक्छेको नेतृत्वमा २० सदस्यीय बाैद्धिक समाज भक्तपुर गठन गरिएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई, श्रष्टा नेपालका अध्यक्ष लक्ष्मणराज जोशी, प्राध्यापक समाजका प्रकाश श्रेष्ठ, चिकित्सक समाजका मजेशप्रताप मल्ल, नर्सिङ समाजका देविका दनेखुलगायतले बोलेका थिए । सोही कार्यक्रममा चिकित्सक, ईन्जिनियर, वकिल, प्राध्यापक, पत्रकार, शिक्षक तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *