बल्ल पूरा भयो भनपाको ख्वप आदर निकेतन सञ्चालनको सपनाः भव्य उदघाटन

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको ख्वप आदर निकेतनको आज उद्घाटन भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले आज आयोजित एक कार्यक्रमबीच रिबन काटेर ख्वप आदर निकेतनको उद्घाटन गर्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकको हेरचाह, सम्मान र मानसिक स्वास्थ्यका लागि यस्तो सेवा महत्वपूर्ण रहेको बताउनुभयो। अध्यक्ष बिजुक्छेले ज्येष्ठ नागरिकहरूमा उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुँदै जाने भएकाले उनीहरूलाई विशेष हेरचाह आवश्यक रहेको बताउनुभयो। ज्येष्ठ नागरिकलाई एक्लै राख्न नहुने उल्लेख गर्दै उहाँले उचित हेरचाह र सामाजिक वातावरण प्रदान गर्न सके उनीहरूको आयु तथा जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो।
लामो समयदेखि आदर निकेतन सञ्चालन गर्ने उद्देश्य रहेको र आज आएर उक्त उद्देश्य पूरा भएको उल्लेख गर्दै बिजुक्छेले ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनका लागि जोड दिनुपर्ने बताउनुभयो ।
घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकका लागि स्थानीय तहले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी निरन्तर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
बालबालिकाको हेरचाहका लागि विद्यालय, किन्डरगार्डेन तथा शिशु स्याहार केन्द्रहरू धेरै रहे पनि ज्येष्ठ नागरिकको संरक्षण र हेरचाहका लागि आवश्यक केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
ज्येष्ठ नागरिकलाई सहारा र सम्मानसहितको सेवा उपलब्ध गराउन वडा तहबाटै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी, देशभक्तिको भावना विकास गर्दै देशका लागि समर्पित हुने युवाको आवश्यकता रहेको उहाँले बताउँदै निर्वाचित जनप्रतिनिधिहरूले जनताका सबै समस्या सम्बोधन गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
उहाँले नयाँ सरकारले आइतबार बिदा दिने निर्णयका कारण बालबालिकाको शैक्षिक स्तर खस्किएको बताउँदै सरकारको भरमा मात्र पर्न नहुने धारणा राख्नुभयो। भक्तपुरका संरचनाहरू जनताकै सहभागितामा निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय विकास र सामाजिक संरचना संरक्षणमा जनताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भक्तपुरमा भएको आगजनीमा भक्तपुरकै युवाहरूको संलग्नता रहेको बताउँदै उहाँले राजनीतिक चेतनाको अभावका कारण यस्तो अवस्था सिर्जना भएको बताउनुभयो। टोलटोलमा संगठन बलियो बनाउन नसके संरचना जोगाउन चुनौती हुने उल्लेख गर्दै उहाँले युवाहरूलाई राजनीतिक रूपमा सचेत बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आदर निकेतनमा भर्ना भएका ज्येष्ठ नागरिकहरूलाई फूलमाला लगाएर स्वागत गर्नुभयो। उहाँले आदर निकेतनमा पोषणविज्ञको सल्लाहअनुसार खाना खुवाउने, टेलिभिजन, परम्परागत खेल, भजन–कीर्तनलगायतका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो।
नगर प्रमुख प्रजापतिका अनुसार आदर निकेतनमा शुद्ध पिउने पानी, नर्सिङ स्टेसन तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ र आदर निकेतनको सेवा नगरपालिकाका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो।
“जनताको साथ र सहयोगबाट जुनसुकै काम पनि सफल हुन्छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गरिरहेको छ,” उहाँले भन्नुभयो।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप आदर निकेतन निर्माणमा जनताको जनश्रमदानसमेत रहेको उल्लेख गर्दै यसलाई महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय सरकारले जनताको सेवामा गर्न सक्ने कामको उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गरिरहेको धारणा राख्नुभयो।
सांंसद गोसाईले महिला तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास हुनुपर्ने बताउँदै बालबालिका र ज्येष्ठ नागरिकलाई एकअर्कासँग घुलमिल हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। बालबालिका र ज्येष्ठ नागरिकलाई सँगै राख्दा मानसिक विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जन्मदेखि मृत्युसम्मका संस्कार तथा सामाजिक आवश्यकतासँग जोडिएका विषयमा स्थानीय सरकारले जिम्मेवारी लिने नीति नगरपालिकाले अपनाएको जानकारी दिनुभयो।
ज्येष्ठ नागरिकको स्वास्थ्य, सम्मानित र सुरक्षित जीवनयापन सुनिश्चित गर्न आदर निकेतन सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उपप्रमुख जोशीले सामाजिक आवश्यकताहरू परिपूर्ति गर्न नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाले नगरको समग्र विकासका लागि गर्दै आएका काम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले आदर निकेतनलाई ज्येष्ठ नागरिकहरू खुसीसाथ बस्न सक्ने वातावरणका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।
बदलिँदो सामाजिक परिवेशमा बालबालिका र ज्येष्ठ नागरिकहरू एक्लिँदै गएको उल्लेख गर्दै डा. मल्लले ख्वप अस्पतालले ज्येष्ठ नागरिकलाई केन्द्रित गर्दै श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको जानकारी दिँदै अस्पतालमा एमआरआई खरिद प्रक्रिया सुरु भइसकेको बताउनुभयो।
भक्तपुर नगरपालिका वडा नं। ६ का वडाध्यक्ष हरिराम सुवालले परिवारमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरूको संरक्षण तथा हेरचाहका लागि ख्वप आदर निकेतन आवश्यक रहेको बताउनुभयो। उहाँले आदर निकेतनमा भजन, मनोरञ्जन तथा बौद्धिक गतिविधिसँग साक्षात्कार गराउनेलगायतका कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैया सुवालले ख्वप आदर निकेतनमा भर्ना हुनका लागि हालसम्म २० जना ज्येष्ठ नागरिकले नाम दर्ता गरिसकेको जानकारी दिनुभयो। उहाँका अनुसार आदर निकेतनको सेवा भोलिदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ।
आदर निकेतनमार्फत ज्येष्ठ नागरिकलाई सुरक्षित वातावरण, आवश्यक हेरचाह, स्वास्थ्य सेवा तथा सामाजिक सहभागिताको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *