भक्तपुरमा गुणस्तरीय आँखा सेवाको भरोसायोग्य केन्द्र बन्दै नेपाल आँखा कार्यक्रम  ख्वप तिलगंगा आँखा अस्पताल 

नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानले नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको छ। गुणस्तरीय आँखा उपचार सबैको पहुँचमा” भन्ने उद्देश्यअनुरूप प्रतिष्ठानले उपचार सेवासँगै आँखा रोगसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान र आवश्यक उपचारलाई समुदायस्तरसम्म पुर्‍याउँदै आएको छ।

सेवा विस्तारको यही यात्राअन्तर्गत नेपाल आँखा कार्यक्रमअन्तर्गत अहिले ३ वटा सामुदायिक आँखा अस्पताल, २६ वटा सर्जिकल आँखा केन्द्र तथा सामुदायिक आँखा केन्द्र र ६० वटा ग्रामीण तथा शहरी आँखा केन्द्र सञ्चालनमा रहेका छन्। यी केन्द्र तथा अस्पतालमार्फत देशका विभिन्न क्षेत्रका लाखौँ नागरिकले वर्षेनी आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरिरहेका छन्।

आँखा उपचार सेवाको पहुँचलाई शहरबाट गाउँ र समुदायसम्म विस्तार गर्ने अभियानमा विश्वप्रसिद्ध नेत्र चिकित्सक प्रो. डा. सन्दुक रुइतको दृष्टिकोण र समर्पणले महत्वपूर्ण आधार प्रदान गरेको छ। उपचार पाउनबाट कुनै पनि नागरिक वञ्चित हुनु हुँदैन भन्ने सेवामुखी सोचका साथ उहाँले आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै आउनुभएको छ।

यसै अभियानको महत्वपूर्ण हिस्सा बनेर भक्तपुर च्याम्हासिंहमा ख्वप तिलगंगा आँखा अस्पतालले सेवा प्रदान गरिरहेको छ। नेपाल आँखा कार्यक्रमको उद्देश्यअनुरूप स्थानीय समुदायसँग सहकार्य गर्दै अस्पतालले भक्तपुर तथा वरपरका क्षेत्रका नागरिकलाई गुणस्तरीय, सुलभ र सहज आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

ख्वप तिलगंगा आँखा अस्पतालले आर्थिक वर्ष २०८२/०८३ मा अस्पताल परिसरबाट ३१ हजारभन्दा बढी सेवाग्राहीलाई आँखा स्वास्थ्य सेवा प्रदान गरेको छ। यस अवधिमा अस्पतालले १ हजार १ सयभन्दा बढी मोतिबिन्दुको शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न गरेको छ।

अस्पतालले अस्पतालमा आधारित उपचार सेवासँगै समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई समेत प्राथमिकता दिँदै आएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका विद्यालय आँखा जाँच कार्यक्रमबाट ६ हजार ५ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् भने सामुदायिक आँखा जाँच कार्यक्रममार्फत ६ हजार ८ सयभन्दा बढी सेवाग्राहीले आँखा परीक्षण तथा आवश्यक परामर्श सेवा प्राप्त गरेका छन्।

अस्पतालमा हाल हरेक दिन विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध गर्दै आएको छ। दैनिक १३० देखि १५० जनासम्म आँखा रोगका बिरामीले अस्पतालबाट उपचार तथा परामर्श सेवा लिइरहेका छन्। विभिन्न प्रकारका जटिल तथा विशिष्ट आँखाका समस्याका लागि साताको विभिन्न दिनमा उपविशेषज्ञ सेवा समेत उपलब्ध गराइएको छ।अस्पतालको नाम दर्ता समय विहान ८ बजे बाट बेलुका ४:३० बजे रहेको छ ।

अस्पतालमा आइतबार, सोमबार, बुधबार र बिहिबार Retina Specialist को सेवा उपलब्ध रहेको छ। त्यस्तै, हरेक मंगलबार Uvea सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुन्छ भने हरेक शुक्रबार पालैपालो Glaucoma (जलबिन्दु), Cornea तथा बाल आँखा (Pediatric Ophthalmology) सम्बन्धी विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिँदै आएको छ।

आँखा रोगको समयमै पहिचान तथा प्रभावकारी उपचारका लागि अस्पतालमा आधुनिक प्रविधियुक्त विभिन्न उपकरणहरू उपलब्ध छन्। OCT, Humphrey Visual Field Analyzer, B-Scan, Fundus Photography, Optical Biometry, Contact Lens तथा Orthoptics लगायतका सेवामार्फत चिकित्सकको आवश्यकता र सिफारिसअनुसार विभिन्न प्रकारका आँखा परीक्षण गरिन्छ। आधुनिक उपकरणको उपलब्धताले जटिल आँखाका रोगको पहिचान तथा उपचारमा थप सहजता पुगेको अस्पतालले जनाएको छ।

मोतिबिन्दुको उपचार तथा शल्यक्रियाका क्षेत्रमा समेत अस्पतालले उल्लेखनीय सेवा प्रदान गर्दै आएको छ। यस आर्थिक वर्षमा १,१०० भन्दा बढी मोतिबिन्दुको शल्यक्रिया भक्तपुर तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई स्थानीय स्तरमै गुणस्तरीय शल्यक्रिया सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ।

त्यस्तै बाह्य कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाको तेमाल ,चौरिदेउराली र सिन्धुली जिल्लाको घ्याँग्लेख गाउपलिकामा शल्यक्रिया शिविर मार्फत २०० जना भन्दा धेरै मोतिबिन्दुको निशुल्क शल्यक्रिया सम्पन्न गरेको छ ।

अस्पतालले उपचार सेवासँगै सेवाग्राहीको दैनिक आवश्यकतालाई समेत ध्यानमा राख्दै सहुलियत दरमा चस्मा तथा औषधि उपलब्ध गराउने उद्देश्यले चस्मा पसल र औषधि पसल सञ्चालनमा ल्याएको छ। आवश्यकता हेरी केहि सेवाग्राहीलाइ चस्मा को परिक्षण  Auto Refractometer प्रयोग गरि गरिन्छ भने चस्माको लेन्सको फिटिङ तथा कटिङका लागि Auto Edging Machine को प्रयोग हुँदै आएको छ।

अस्पतालको सेवा अस्पताल परिसरमा मात्र सीमित नभई विद्यालय तथा समुदायसम्म विस्तार हुँदै आएको छ। विद्यालयमा नियमित आँखा परीक्षणमार्फत बालबालिकामा देखिने दृष्टिदोष तथा अन्य आँखाका समस्याको समयमै पहिचान गर्ने र समुदायमा सञ्चालन हुने आँखा जाँच कार्यक्रममार्फत आँखाको उपचार सेवाको पहुँचबाट टाढा रहेका नागरिकसम्म सेवा पुर्‍याउने कार्यलाई अस्पतालले निरन्तरता दिँदै आएको व्यहोरा अस्पतालका ब्यबस्थापक धिरज अधिकारी बताउनुहुन्छ।

यसरी अस्पतालमा विशेषज्ञ सेवा, आधुनिक उपकरण, शल्यक्रिया तथा औषधि–स्माको सुविधा उपलब्ध गराउनुका साथै विद्यालय र समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै ख्वप तिलगंगा आँखा अस्पतालले भक्तपुर र आसपासका नागरिकका लागि सहज, गुणस्तरीय तथा सर्वसुलभ आँखा स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा आफ्नो सेवा विस्तार गर्दै आएको छ।

आगामी दिनमा पनि अस्पतालले सेवाको गुणस्तर अभिवृद्धि गर्दै विशेषज्ञ आँखा उपचारलाई थप विस्तार गर्ने, आधुनिक प्रविधिको प्रयोग बढाउने तथा समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच थप विस्तार गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *