फैसला कार्यान्वयनतर्फका फरार ६ जना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतबाट फैसला भई फरार रहेका ६ जनालाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फैसला कार्यान्वयनतर्फ फरार रहेका ६ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दुई जना चेक अनादर मुद्दाका रहेका छन्। उनीहरूबाट अदालतले जनही रु. २ हजार जरिवाना तोकेको छ। त्यस्तै, बैंकिङ कसुर मुद्दामा दुई जनालाई २ वर्ष ५ दिन कैद र रु. ४२ हजार ५ सय जरिवाना तोकिएको छ।

लेनदेन मुद्दामा एक जनालाई २ वर्ष कैद तथा गम्भीर उत्तेजना वा रिसको आवेगमा आई कुटपिट तथा अंगभंग मुद्दामा एक जनालाई १ महिना १४ दिन कैद र रु. १ हजार जरिवाना तोकिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ६ जनाको कुल कैद अवधि ४ वर्ष १ महिना १९ दिन र कुल जरिवाना रु. ४५ हजार ५ सय रहेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल असोज २ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त विवरण सार्वजनिक गरेको हो। प्रेस विज्ञप्ति नं. ३० मा “फैसला कार्यान्वयन तर्फका फरार पक्राउ” उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *