नबराज काफ्ले
चाँगुनारायण,भक्तपुर,आश्वीन २६
स्थानीय तहमा महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता र सामाजिक रूपान्तरणको संवाहक बन्दै आएको श्री फैढोका गणेश महिला जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सुशीला बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन र भावी कार्यदिशा पारित गर्नुका साथै आगामी ४ वर्षे कार्यकालका लागि सुनिता भण्डारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ। चाँगुनारायण नगरपालिका-२, दुवाकोट ब्यान्क्वेटमा आयोजित सभामा संस्थागत प्रगति समीक्षा, लाभांश घोषणा तथा सम्मान कार्यक्रमका साथै योग र ध्यानमार्फत स्वस्थ समाज निर्माणको नयाँ सङ्कल्प प्रस्तुत गरियो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले सहकारितालाई स्थानीय अर्थतन्त्रको मेरुदण्डको रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, “सहकारी केवल बचत र ऋणको कारोबार गर्ने थलो मात्र होइन, यो त तल्लो तहका नागरिकको आर्थिक-सामाजिक रूपान्तरण र स्वावलम्बनको सशक्त माध्यम हो । फैढोका गणेश महिला सहकारीले विशेषगरी महिला वर्गलाई आर्थिक रूपमा सक्षम र सचेत बनाउन पुर्याएको योगदान प्रशंसनीय छ।” स्थानीय सरकार र सहकारी क्षेत्रबीचको परिपूरक भूमिकामाथि जोड दिँदै उहाँले सहकारीमार्फत महिलाहरूमा नेतृत्व विकास र स्वरोजगारका अवसर सिर्जना गर्न नगरपालिका सधैं सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
विशेष वक्ताका रूपमा आफ्नो मन्तव्य राख्दै सामाजिक अभियन्ता डा. नवराज काफ्लेले सहकारीको मूल दर्शन नै आफ्ना सदस्यहरूको सर्वांगीण हित गर्नु रहेको उल्लेख गर्नुभयो । आर्थिक सवलीकरणसँगै शारीरिक र मानसिक स्वास्थ्यको सन्तुलन अपरिहार्य रहेको औंल्याउँदै उहाँले भन्नुभयो, “जबसम्म सहकारीका सदस्यहरू शारीरिक र मानसिक रूपमा स्वस्थ हुँदैनन्, तबसम्म आर्थिक समृद्धिको प्रतिफल पूर्ण हुन सक्दैन। स्वस्थ सदस्य नै स्वस्थ परिवार र अनुशासित एवं समृद्ध समाजका आधारस्तम्भ हुन्।” उहाँले सहकारीभित्र नियमित योग, ध्यान र जीवनोपयोगी आरोग्यताका अभ्यासहरूलाई समावेश गर्न आग्रह गर्नुभयो । साथै, सहकारीले हासिल गरेको वित्तीय अनुशासनको सराहना गर्दै उहाँले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको ओजस्वी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन तथा व्यवस्थापकीय प्रस्तुति दिँदै सहकारीका व्यवस्थापक मन्दिर कार्कीले संस्थाको दैनिक कार्यसञ्चालन, सदस्य सेवा, प्रविधिमैत्री सेवा विस्तार र वित्तीय पारदर्शिताका विविध पक्षमाथि प्रकाश पार्नुभयो । सदस्यहरूको विश्वास नै सहकारीको वास्तविक पुँजी भएको उल्लेख गर्दै उहाँले सहकारीलाई अझ सुदृढ, प्रविधिमैत्री र सेवामुखी बनाउन व्यवस्थापन पक्ष निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभापति एवं निर्वतमान अध्यक्ष सुशीला बुढाथोकीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट सेयर सदस्यहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाको कुल सम्पत्ति रु. ५,२१,३७,००३।३४ पुगेको छ भने सेयर पुँजी रु. ३२,२५,५०० र जगेडा कोष रु. २०,४१,४१७।२४ पुगेको वित्तीय विवरण सार्वजनिक गरियो ।
अधिवेशनले आगामी ४ वर्षका लागि सुनिता भण्डारीको अध्यक्षतामा उपाध्यक्ष रजनी रोक्का,सचिव संगिता अधिकारी,कोषाध्यक्ष सुनिता थापा,सञ्चालक सदस्यहरू: सकुन्तला कार्की, सुनिता जोशी, माधवी खड्का,शर्मिला थापा मगर र निर्मला खत्री,लेखा सुपरिवेक्षण समिति संयोजक वर्षा शाह ठकुरी,लेखा सुपरिवेक्षण समिति सदस्यहरू: सरला खड्का र सन्ध्या ढुङ्गाना सर्वसम्मति चयन भएको सहकारीका व्यवस्थापक मन्दिरा कार्कीले अवगत गराउनुभयो ।
सभामा ज्येष्ठ नागरिक सेयर सदस्यहरू, असल ऋणि तथा एस.इ.इ. (SEE) मा उतृण बालसदस्यहरूलाई सम्मान गर्नुका साथै सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो ।












Leave a Reply