१५ % लाभांशसहित उदय साकोसको ३० औँ साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न

भक्तपुर, २४ असोज । उदय बचत तथा ऋण सहकारी संस्था लि.को ३० औँ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तथा सभापति रामकृष्ण प्रजापतिले संस्थाकै बाँसुरी, ढोलक तथा मादल बाजा प्रशिक्षार्थीहरुको सुमधुर धुनसहित पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले देशको वित्तीय संकटको अवस्थामा सदस्यहरूको बचत संकलनलाई सुरक्षित राखी पारदर्शिता, जोखिम व्यवस्थापन सहित उत्पादनशील क्षेत्रमा लगानी गरि सदस्यहरूको वित्तीय क्षमता विकासका लागि गुणस्तरीय सेवासँगै आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा जोड दिनुपर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले स्वागत गर्दै समुदायमा आधारित सहकारी आन्दोलनमा ससाना बचत रकमलाई व्याजको लोभ देखाएर सर्वसाधारण जनताको पैसा ठगी गर्नेहरुको कारण नयाँ आएको सहकारी ऐन कानुनबाट समुदायमा आधारित सहकारी नियमित संचालनमा अप्ठ्यारो भइरहेको ल्याएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका सचिव दिलप्रसाद प्रजापतिले संस्थाको आ.व. २०८२/०८३ मा संचालन भएका विविध गतिविधि सहितको प्रगति प्रतिवेदन तथा आगामी वर्षको भावी कार्यक्रम तथा प्रस्ताव प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष शिवराम बोहजुले २०८२/०८३ को आर्थिक प्रतिवेदनमा सहकारी ऐन नियम मापदण्ड अनुसार सदस्यहरूको शेयरमा १५% लाभांश वितरण गरि ६ करोड २७ लाख १९ हजार चार सय छयानब्बे जगेडा कोष, ५१ करोड ५४ लाख ३४ हजार तीन सय दस रूपैयाँ सम्पत्ति तथा दायित्व सार्वजनिक गर्दै आ.व. २०८३।०८४ को अनुमानित बजेट प्रस्तुत गर्दै गर्नुभयो ।

लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले २०८२।०८३ को प्रतिवेदन तथा समितिको तर्फबाट सुझाव प्रस्तुत गर्नुभयो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य कृष्ण गोविन्द लाखाजुले हालको सहकारी ऐनकानुनबाट ऋणीले समयमै व्याज नतिर्दा हुने जोखिमलाई शंकास्पद ऋण कोषमा सदस्यलाई दिनुपर्ने नाफाको रकम राख्नुपर्ने नयाँ व्यवस्थाले समुदायमा आधारित संस्थाको दिगोपनमा समस्या आउने बताउँदै सहकारीले मात्रै सदस्यलाई बचत तथा ऋणमा सदस्यले व्याजसँगै संरक्षित पुँजी कोष फिर्ता पाउने व्यवस्था रहेको जानकारी दिनुभयो । उहाँले बहुउद्देश्यीय भनी गलत उद्देश्यले खोलिएको सहकारी समेत ऋण र बचतमा सीमित हुँदा समुदायमा आधारित सहकारी संचालनमा समस्या आएको बताउनुभयो ।

संचालक सदस्यद्वय दयालक्ष्मी प्रजापति र कृष्णराम प्रजापति तथा दिनेश कुसीले पनि बोल्नुभयो । संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले ७५ वर्ष उमेर र सोभन्दा माथिका ४९ जना जेष्ठ सदस्यलाई दोसल्लाले सम्मान सहित पाैष्टिक आहार वितरण गरेको थियोे । आव २०८२/८३ मा मासिक साँवा र व्याज नियमितरूपमा तिरेका ८ जनालाई असल ऋणी सम्मान पदक दिएको छ ।

२०८२ को एसईई परीक्षा उत्तीर्ण २९ जना तथा +२ उत्तीर्ण २९ जना सदस्य परिवारका विद्यार्थीलाई उदय पदक तथा प्रमाणपत्र वितरण सम्मान गरेको छ । सोही कार्यक्रममा ५ महिने बाँसुरी, मादल तथा ढोलकका प्रशिक्षकलाई नगद र प्रमाणपत्र तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

सल्लाहकार समितिका संयोजक रामेश्वर प्रजापति तथा निलनारायण कोजुले संस्थामा १३ वर्ष अनवरत सेवा गरि व्यवस्थापकीय भूमिका निभाउनु भएका पूण्यराम गोसाईलाई सम्मान गरिएको छ ।

आठौं अधिवेशनबाट अध्यक्ष न्हुछे बहादुर प्रजापति, उपाध्यक्ष पूण्यराम गोसाई, सचिवमा दिनेश कुसी, कोषाध्यक्ष सोहन रञ्जित, सदस्यहरू बाबुकाजी प्रजापति, सत्य राम कासिछ्वा, नारायण कृष्ण प्रजापति, दयालक्ष्मी प्रजापति, सुलोचना निर्विरोध निर्वाचित हुनुभयो । लेखा सुपरिवेक्षण समितिमा संयोजक विष्णुप्रसाद प्रजापति, सदस्यमा किशोर जुगिजु श्रेष्ठ र सीता लक्ष्मी प्रजापति पनि निर्विरोध निर्वाचित हुनुभयो ।

सल्लाहकार समिति संयोजक निलनारायण कोजु, सदस्य रामकृष्ण प्रजापति तथा शिवराम बोहजु निर्वाचित हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *