कमल विनायक साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न
कमल विनायक, नगाँचा, २०८३ असोज २४ गते, शनिबार।
कमल विनायक बचत तथा ऋण सहकारी संस्था लि.को १९औँ वार्षिक साधारणसभा शनिबार संस्थाको प्राङ्गण, कमल विनायक नगाँचामा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सहकारी र बैंकबीचको भिन्नताबारे चर्चा गर्दै सहकारीले कम आय भएका जनतालाई बढी सेवा प्रदान गर्ने बताउनुभयो। उहाँले भक्तपुर नगरपालिकाका गतिविधिबारे चर्चा गर्दै नगरपालिकाले निःशुल्क रगत तथा अक्सिजन वितरण गरिरहेको जानकारी दिनुभयो। साथै, नगरपालिकाद्वारा सञ्चालित सीपमूलक तथा आयमूलक तालिममा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो।
कार्यक्रमका अर्का अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक सदस्य राजकुमार लघुले संस्थाका वार्षिक प्रतिवेदनबारे चर्चा गर्दै संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार आफ्ना गतिविधि अगाडि बढाइरहेको तथा प्रगति गरिरहेकोमा सन्तोष व्यक्त गर्नुभयो। उहाँले संस्थाको जगेडा कोष जति बढी हुन्छ, संस्था त्यति नै बलियो हुने बताउनुभयो। साथै, सदस्यहरूले गरेको शेयर लगानी तथा ऋण कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषको व्यवस्था हुने विषयमा जानकारी दिनुभयो।
सरकारले विभिन्न ऐन, नियम तथा कानुनमार्फत सहकारी क्षेत्रमा दबाब सिर्जना गर्दा सहकारीको विकासमा अवरोध पुगिरहेको उल्लेख गर्दै उहाँले जारी निर्देशनहरूको पालना गर्ने क्रममा सहकारी संस्थाहरूमा नेतृत्वको अभाव हुन सक्ने धारणा राख्नुभयो। एक व्यक्ति एक सहकारीको सदस्य हुनुपर्ने व्यवस्था, सञ्चालकहरूले ऋण लिन नपाउने व्यवस्था तथा सञ्चालक समितिमा नौ जना मात्र रहने व्यवस्थाले लामो समयदेखि निःस्वार्थ रूपमा सेवा गर्दै आएका सञ्चालकहरूको अभाव हुन सक्ने उहाँले बताउनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार राजाराम तजले र कृष्णप्रसाद लाखाले संस्थाको प्रगतिबारे चर्चा गर्नुभयो।
संस्थाका अध्यक्ष सुनिल मगजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव लक्ष्मीप्रसाद चवालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्षले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यहरू तथा एसईई उत्तीर्ण शेयर सदस्यहरूलाई प्रमुख अतिथि एवं वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सम्मान गर्नुभएको थियो।












Leave a Reply