भक्तपुर । संसारका मानिस स्वतन्त्र भनिए पनि मानिसमा ‘माई बडी माई राइट’ (मेरो शरीर मेरो अधिकार) कहिलेबाट पाउने भनी एक कार्यक्रमका सहभागीहरुले प्रश्न तेस्र्याका छन् । अहिले पनि विवाहित महिला पुरुष तयार भएपछि यौन सम्पर्कका लागि तयार हुनुपर्ने बाध्यता रहेको बैठकमा सहभागी महिलाहरुको भनाई हो । बिबाह गरेपछि श्रीमानसँंग सुत्नु परेन त? भनेर नेपाली समाजमा अहिलसम्म पनि समाजले नै प्रश्न गर्छ, महिला जागरण तथा विकास केन्द्र काठमाडौंले बिहीबार भक्तपुरमा गरेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको दोश्रो दिन सरोकारवाला पक्षसँंग भएको समूह सञ्जाल बैठक कार्यक्रममा यस्तो कुरामा चर्चा गरिएको हो ।
बैठकमा आयोजक संस्थाका सल्लाहकार डा.अनिता श्रेष्ठले अहिले पनि विवाहित महिला श्रीमानको यौन चाहना पूरा गर्नका लागि हो भन्ने मिथक रहेको बताइन् । यति मात्रै होइन महिला भनेको घरको कामका लागि ल्याइएको काम गर्ने कामदार जस्तै हुनुपरेको अवस्था छ, उनले भनिन्, महिलामाथि जन्मेपछिबाट नै मावताको व्यवहार अहिलेसम्म पनि हुन सकेको छैन । श्रीमानले दुई ठप्पर हाने पनि महिलाले सहनुपर्ने हुन्छ भन्ने गलत मिथक अहिले पनि नेपाली समाजमा कायम देखिएको उनको बुझाई छ ।
कार्यक्रममा महिलामाथि हुने हिंसा नियन्त्रणका लागि नेपालमा पर्याप्त कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बैठकमा सहभागीहरुले चर्चा गरे । कानुन निर्माण गरेर मात्रै महिलामाथिको हिंसा अन्त्य नहुने भन्दै उनीहरूले दण्डहीनताको अन्त्य र पीडितलाई न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । महिलामाथि हुने हिंसा रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनीहरुको भनाई छ । कार्यक्रममा महिलामाथि हुने हिंसा तथा बालबालिकाविरुद्धका हिंसा रोक्न विद्यमान कानुनी प्रावधान, न्यायमा पहुँच र त्यसको कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार वरिष्ठ अधिवक्ता प्रा.डा.शशी अधिकारीले महिलामाथि हुने हिंसा रोकथाम तथा न्यायमा पहुँचसम्बन्धी कानुनी व्यवस्थाबारे सहजीकरण गरेकी थिइन् । पीडित केन्द्रित दृष्टिकोण, लैङ्गिक हिंसासम्बन्धी सेवा प्राप्तिमा देखिएका चुनौती, सरोकारवालाको भूमिका तथा लैङ्गिक हिंसापीडितका लागि उपलब्ध सेवा र प्रेषण प्रणाली (रेफरल मेकानिजम) का विषयमा पनि कार्यक्रममा प्रस्तुति दिइएको थियो ।
कार्यक्रममा सहभागीहरुले हिंसा पीडितले न्याय प्राप्तिका क्रममा भोग्नुपर्ने समस्या, उपलब्ध सेवामा पहुँचका चुनौती तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले हिंसा पीडितको सुरक्षा, गोपनीयता र न्यायमा सहज पहुँच सुनिश्चित गर्न सरकारी निकाय, सामाजिक संस्था तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।
बैठकमा सरकारी वकिल कार्यालय भक्तपुर, भक्तपुरकै सूर्यविनायक नगरपालिका सामाजिक विकास शाखा, सूर्यविनायक नगर बाल सञ्जाल, जगाती महिला सेल, वडाकै सुवर्णेश्वर विद्यालय, भक्तपुर जिल्लामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, मिडियाकर्मी सहभागी रहेका थिए ।
कार्यक्रममा आयोजक संस्था महिला जागरण तथा विकास मञ्चले जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ६ मा महिला समूह गठन गरी महिलाहरूको आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जनायो । आयआर्जनका कार्यक्रममार्फत महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै उद्यमीका रूपमा समेत विकास गर्न संस्थाले सहयोग गर्दै आएको जनाएको छ । महिलाको आर्थिक सशक्तीकरणसँगै लैङ्गिक हिंसाको अन्त्यका लागि एक्यबद्धता जनाउने, दण्डहीनताको अन्त्य गर्ने र पीडितलाई न्याय सुनिश्चित गराउने उद्देश्यले संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पनि जनाएको छ ।
मेरो शरीर मेरो अधिकार आखिर कहिलेबाट ?











Leave a Reply