भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ सुरु

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३ को आज उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नास्टिक, पोर्टबल, बाघचाल र कसिमला पाँय खेल गरी १५ वटा विधामा सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले युवा तथा विद्यार्थी अवस्थामै शरीरलाई स्वस्थ राख्न सके असल र सक्षम नागरिक बनाउन सकिने बताउनुभयो ।
खेलकुद स्वस्थ शरीर र अनुशासनका लागि मात्र नभई देश र जनताको सेवाका लागि पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।
खेलकुदले बाह्य आक्रमणको विरोधमा लड्न सक्ने शारीरिक तथा मानसिक क्षमता विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले देशमा संकट परेको अवस्थामा सामना गर्न सधैँ तयार रहनुपर्ने बताउनुभयो ।
खेलकुदमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो लागि मात्र नभई देश र जनताको निम्ति खेल्ने भावना विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई नागरिक जीवनको अभिन्न अंगका रूपमा विकास गर्न समय–समयमा अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने, राष्ट्रिय प्रतियोगितामा विजयी तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भक्तपुरका खेलाडीहरूलाई सम्मान गर्ने र उपयुक्त स्थानमा खेलकुद कभर्ड हल निर्माण गर्ने विषय निर्वाचन घोषणापत्रमा समेटिएको बताउनुभयो ।
नगरपालिकाले घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू एक–एक गरी पूरा गर्ने क्रममा अन्तरविद्यालय खेलकुद प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण तथा खेलाडी उत्पादनमा समेत जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नगरपालिका–८ लिबालीमा ब्याडमिन्टन कभर्ड हल र वडा नं. १० बेखालमा टेबलटेनिस कभर्ड हल निर्माण सम्पन्न गरी खेल प्रशिक्षण सञ्चालन गरिरहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुदमा अनुशासन अपरिहार्य हुने बताउँदै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयप्रति आभार र विद्यार्थीलाई खेलकुदको अवसर प्रदान गरेकोमा भक्तपुर नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
खेलकुद क्षेत्रलाई अझै अनिवार्य र व्यवस्थित बनाउन नसकिएको उल्लेख गर्दै उहाँले स्थानीय तहबाट भक्तपुर नगरपालिकाले गरेको अगुवाइ सराहनीय रहेको बताउनुभयो । नेपालको शिक्षा क्षेत्र अझै अपेक्षाअनुसार सुधार हुन नसकेको चर्चा गर्दै उहाँले आइतबार सार्वजनिक बिदा दिने व्यवस्थाले शिक्षा क्षेत्रलाई थप पछाडि धकेलेको टिप्पणी गर्नुभयो ।
आइतबार स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारणले भोग्नुपरेको कठिनाइबारे पनि उहाँले ध्यानाकर्षण गराउँदै सार्वजनिक बिदाको व्यवस्थाबारे पुनरावलोकन हुनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकाको सुन्दर भविष्यसँग खेलबाड गर्न नहुने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो । खेलकुदलाई पदक प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने अवसरका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले नगरपालिकाले युवा तथा विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउँदै विद्यार्थीले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको खेलकुद गतिविधिबारे जानकारी दिँदै खेलकुदमा आफ्नो भविष्य खोजिरहेका विद्यार्थीका लागि नगरपालिकाले आयोजना गर्ने यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
त्यस्तै, भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले घोषणापत्रअनुसार नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्ने नगरपालिका भक्तपुर नगरपालिका मात्र रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले जस्तो भव्य रूपमा अन्यत्र खेलकुद प्रतियोगिता आयोजना भएको आफूलाई जानकारी नभएको उल्लेख गर्दै उहाँले जिल्ला तथा नगर संघसंस्थालाई समेत खेलकुद क्षेत्रमा योगदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । उद्घाटन समारोहमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ताई ची तथा जिम्न्यास्टिक खेलको प्रदर्शनसमेत गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीको तर्फबाट पोर्टबल खेलाडी अभिषेक तामाङले शपथग्रहण गर्नुभएको थियो भने निर्णायकको तर्फबाट रेफ्री गणेशराम ग्वाछाले प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न शपथग्रहण गर्नुभएको थियो ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट सुरु भई गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो र दुधपाटी हुँदै सहिद स्मृति खेलमैदानमा पुगेर समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *