भक्तपुर । क्रिकेट, संगीत र नेवारी संस्कृतिलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले भक्तपुरमा ‘NPL GRAND FINAL SCREENING & MUSIC NIGHT’ आयोजना हुने भएको छ। नेवा ननीको आयोजनामा आगामी मंसिर ५ गते विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल प्रत्यक्ष प्रदर्शन गरिनेछ। त्यससँगै लोकप्रिय सांगीतिक समूह कोबवेब ब्यान्ड (COBWEB BAND) को विशेष लाइभ प्रस्तुति रहने आयोजकले जनाएको छ।
क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै खेलको रोमाञ्चकता अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। क्रिकेटको फाइनलपछि सांगीतिक कार्यक्रम सञ्चालन हुनेछ।
नेवा ननीले नेवारी मौलिक खानपान, कला, संस्कृति र आतिथ्यलाई प्रवर्द्धन गर्दै खेलकुद, संगीत र सांस्कृतिक मनोरञ्जनलाई एउटै ठाउँमा जोड्ने नयाँ पहलका रूपमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
आयोजकका अनुसार कार्यक्रमका लागि दुई प्रकारका प्रवेश टिकटको व्यवस्था गरिएको छ। २०० रुपैयाँको टिकटमा निःशुल्क कफी र ५०० रुपैयाँको टिकटमा निःशुल्क बियर उपलब्ध गराइनेछ। कार्यक्रममा नेवारी खानाका मौलिक परिकार तथा विशेष आतिथ्यको व्यवस्थासमेत रहनेछ।
नेवा ननीले व्यवसायको सफलता आर्थिक कारोबारमा मात्र सीमित नरही समाज, संस्कृति, स्थानीय समुदाय र नयाँ पुस्ताका लागि सकारात्मक योगदान दिन सक्नुपर्ने सोचका साथ कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। यसले नेपाली संगीत क्षेत्रका कलाकार र दर्शकबीचको सम्बन्ध बलियो बनाउनुका साथै स्थानीयस्तरमा सांगीतिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित नेवा ननी (Newa:Nanee) परिसरमा हुनेछ। अनलाइन टिकट विवरणअनुसार कार्यक्रमको प्रवेशद्वार दिउँसो ३ बजे खुल्ने र खेल प्रदर्शन साँझ ५ बजे सुरु हुनेछ।











Leave a Reply