SEE परीक्षाको तयारीका लागि पूर्वतयारी कक्षा सञ्चालन गर्दै श्री सेती देवी शारदा माध्यमिक विद्यालय

सिन्धुपाल्चोक, सुनकोशी। सुनकोशी गाउँपालिका–७ पाङ्ग्रेटारस्थित श्री सेती देवी शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) लाई लक्षित गर्दै विद्यार्थीहरूको शैक्षिक उपलब्धि सुधार गर्ने उद्देश्यले पूर्वतयारी तथा कोचिङ कक्षा सञ्चालन गरिरहेको छ। SEE परीक्षामा विद्यार्थीहरूको नतिजा उत्कृष्ट बनाउने, विषयगत ज्ञान र सिकाइ क्षमता अभिवृद्धि गर्ने तथा परीक्षाप्रतिको आत्मविश्वास बढाउने लक्ष्यसहित विद्यालयले अतिरिक्त तयारी कक्षालाई प्राथमिकता दिएको हो। विद्यालयका प्रधानाध्यापक रवीन्द्र ढकालका अनुसार विद्यार्थीलाई नियमित पठनपाठनसँगै परीक्षामुखी अभ्यास, विषयगत पुनरावृत्ति, नमुना प्रश्नपत्रको अभ्यास तथा कठिन विषयवस्तुमा थप सहजीकरण गरिँदै आएको छ। उहाँले विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यका लागि विद्यालय परिवार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शारदा प्रसाद चालिसेले SEE परीक्षा विद्यार्थीको शैक्षिक यात्राको महत्वपूर्ण खुड्किलो भएकाले परीक्षामा राम्रो नतिजा ल्याउन विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ। अध्यक्ष चालिसेका अनुसार, “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता हो। विद्यार्थीलाई राम्रो नतिजा हासिल गराउन विद्यालयले नियमित कक्षासँगै अतिरिक्त कोचिङ तथा पूर्वतयारी कक्षा सञ्चालन गर्नु सकारात्मक पहल हो। विद्यार्थीको क्षमता र प्रतिभा प्रस्फुटन गराउन आवश्यक शैक्षिक वातावरण निर्माण गर्नु विद्यालय व्यवस्थापन समितिको पनि जिम्मेवारी हो।” विद्यालयले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्दै अनुशासित, दक्ष र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्य राखेको छ। SEE परीक्षालाई सफलतापूर्वक सामना गर्न विद्यार्थीहरूलाई नियमित अध्ययन, अभ्यास र समय व्यवस्थापनमा ध्यान दिनसमेत आग्रह गरिएको छ। शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको उज्ज्वल भविष्य र उत्कृष्ट नतिजाका लागि श्री सेती देवी शारदा माध्यमिक विद्यालयको यो प्रयास प्रशंसनीय छ। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता — विद्यार्थीको सफलता हाम्रो लक्ष्य।

समाचार तथा प्रस्तुति: शारदा प्रसाद चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *