उर्वरभूमि कृषि सहकारीद्वारा १५० जना सदस्यलाई १५ हजार काउलीका बेर्ना वितरण

भक्तपुर, कार्तिक। उर्वरभूमि कृषि सहकारी संस्था लि., जगाती, भक्तपुरको आयोजनामा नेपाल संवत् न्हुँदः ११४७, शुभदीपावली (तिहार) तथा छठ पर्व २०८३ को पावन अवसरमा सदस्यहरूलाई निःशुल्क काउलीका बेर्ना वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाले आफ्ना १५० जना सदस्यलाई प्रतिव्यक्ति १०० वटाका दरले जम्मा १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण गरेको छ। कार्यक्रममा अध्यक्ष सुकुपायोले संस्थाले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरूबारे संक्षिप्त जानकारी गराउँदै काउलीका बेर्ना वितरण गर्नुको उद्देश्यबारे प्रकाश पार्नुभयो। सदस्यहरूलाई कृषि उत्पादनमा थप प्रोत्साहन गर्ने, तरकारी खेतीप्रति आकर्षित गर्ने, घरायसी तथा व्यावसायिक तरकारी उत्पादनमा सहयोग पुर्‍याउने र स्थानीय कृषि क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। साथै, सहकारीको मूल मर्मअनुरूप पारस्परिक सहयोग, विश्वास, एकता र सामूहिक प्रयासबाट कृषि क्षेत्रको विकास, आर्थिक समृद्धि तथा आत्मनिर्भर समाज निर्माण गर्ने साझा अभियानले आगामी दिनमा अझ सफलता प्राप्त गर्ने विश्वास अध्यक्ष सुकुपायोले व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणप्रसाद मचामसीले सदस्यहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै संस्थाले विभिन्न सदस्य केन्द्रित तथा उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *