भक्तपुर — नेपाल अंगदाता संघको आयोजनामा विश्व अंगदान दिवसको अवसर पारेर ‘शरीर दान घोषणा, मनकारी अंगदाता सदस्यहरूको सम्मान तथा अंग प्रत्यारोपण विज्ञहरूसित साक्षात्कार कार्यक्रम’ शनिबार एभरेष्ट स्कूल, मिबाछें, भक्तपुरमा सम्पन्न भएको छ।
ज्येष्ठ अंगदाता संघरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल अंगदाता संघका अध्यक्ष ओमचरण अमात्यले अंगदानसम्बन्धी विद्यमान भ्रम चिर्दै यसको महत्व र आवश्यकताबारे व्यापक जनचेतना अभिवृद्धि गर्नु संघको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्रतिनिधिसभा सांसद गंगालक्ष्मी अवालले अंगदानसम्बन्धी आवश्यक नियम तथा कानुन निर्माणका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। त्यस्तै, प्रतिनिधिसभा सांसद मदनकृष्ण श्रेष्ठले विद्यालय, कलेज तथा विश्वविद्यालयको पाठ्यक्रममै अंगदानसम्बन्धी विषय समावेश गरी विद्यार्थी तथा नयाँ पुस्तामाझ यसबारे जनचेतना विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका अंग प्रत्यारोपण विशेषज्ञ डा. पुकार श्रेष्ठले अंगदानमार्फत ठूलो संख्यामा मानिसको जीवन बचाउन सकिने भएकाले अंगदान अभियानलाई संस्थागत रूपमा बलियो बनाउन संघको आफ्नै भवन आवश्यक रहेको बताए।
कार्यक्रममा भक्त राजभण्डारी, कमलदेवी अमात्य राजभण्डारी, लक्ष्मीदेवी राजभण्डारी श्रेष्ठ र मदनकृष्ण श्रेष्ठ गरी चार जनाले शरीर दान गर्ने घोषणा गरेका थिए।
सो अवसरमा अंगदाता तथा अंगदान अभियानमा महत्वपूर्ण योगदान पुर्याउने मनकारी सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमले अंगदानप्रति रहेको सामाजिक भ्रम हटाउँदै जीवन बचाउने अभियानका रूपमा अंगदानलाई स्थापित गर्नुपर्ने सन्देश दिएको छ।













Leave a Reply