नबराज काफ्ले
श्रावण ३१ गते,आईतवार
चाँगुनारायण, भक्तपुर — चाँगुनारायण नगरपालिकाभित्र रक्तदान अभियानले गति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समितिहरूको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रममार्फत नगरपालिकाका पाँच वडाबाट हालसम्म १०६ पाउण्ड रगत सङ्कलन भएको छ। नगरपालिकाका बाँकी चार वडामा समेत क्रमशः रक्तदान कार्यक्रम विस्तार गर्ने तयारी गरिएको छ । आयोजकहरूले रगतको अभावबाट कसैको जीवन जोखिममा नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सम्पूर्ण नगरवासीलाई सक्रिय सहभागिताका लागि अपिल गरेका छन्। कार्यक्रममा संघीय सांसद रुकेश रन्जितले रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गर्दै रगतको अभाव न्यूनीकरणका लागि राज्यले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। उनले भने, “देशमा रगतको अभाव हुन नदिन नेपाल सरकारले विशेष दायित्वबोध गरी योजना ल्याउनुपर्छ। यसका लागि म प्रतिनिधिसभामा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।” चाँगुनारायण नगरपालिका–२ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले स्थानीय तहबाट नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाका सल्लाहकार तथा आजीवन सदस्य एवं सामाजिक अभियन्ता डा. नबराज काफ्लेले जिल्लाका विभिन्न स्थानमा भइरहेका रक्तदान कार्यक्रममा सहभागी भई नियमित रक्तदान गर्न आम नागरिकलाई आग्रह गरे। उनले रक्तदानलाई मानव सेवाको सरल तर अत्यन्त प्रभावकारी माध्यमका रूपमा चित्रण गर्दै भने, “एक थोपा रगतले धेरै जीवन बचाउन सक्छ। यो मानवताको सबैभन्दा सरल र शक्तिशाली सेवा हो।” नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति रामेश्वर थापाले रक्तदाताहरूलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानमा सहकार्यलाई निरन्तरता दिने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी चाँगुनारायण नगर सभापति रोशन थापाले नगरपालिकाका बाँकी वडामा समेत क्रमशः रक्तदान सङ्कलन कार्यक्रम सञ्चालन गर्ने गरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरसँग सहकार्यको सम्झौता भइसकेको जानकारी दिए। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चाँगुनारायण नगरपालिका–२ का सभापति मोहन पौडेललगायतको सहभागिता रहेको थियो। रक्तदान गर्ने सबै रक्तदातालाई प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो। नेपालमा रक्तदानबारे जनचेतना विस्तार हुँदै गए पनि नियमित स्वैच्छिक रक्तदाताको सङ्ख्या अझै अपेक्षित रूपमा बढ्न सकेको छैन । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष विशाल भण्डारीका अनुसार देशभर वार्षिक रूपमा करिब दुई लाख युनिट रगत सङ्कलन हुने गरेको छ भने माग त्यसको तुलनामा निकै बढी छ। सडक दुर्घटना, प्रसूति सेवा, शल्यक्रिया, हृदय तथा मिर्गौलासम्बन्धी उपचार, क्यान्सरलगायत जटिल स्वास्थ्य उपचारमा रगतको आवश्यकता पर्ने भएकाले यसको माग निरन्तर बढिरहेको अध्यक्ष भण्डारी बताउँछन् । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार कुल जनसंख्याको करिब १ देखि २ प्रतिशतले नियमित रक्तदान गर्ने हो भने राष्ट्रिय आवश्यकता पूरा गर्न ठूलो सहयोग पुग्न सक्छ। तर नेपालमा नियमित स्वैच्छिक रक्तदानको संस्कृति अझै अपेक्षित रूपमा संस्थागत हुन सकेको छैन। यस्तो अवस्थामा स्थानीय तह, सामाजिक संस्था तथा राजनीतिक दलका वडा समितिहरूको पहलमा सञ्चालन हुने रक्तदान अभियानले नागरिकमा “रक्तदान जीवनदान” भन्ने भावनालाई व्यवहारमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ। चाँगुनारायणमा पाँच वडाबाट सुरु भएको यो अभियान बाँकी वडामा समेत विस्तार हुँदै नगरस्तरीय नियमित रक्तदान संस्कृतिको आधार बन्ने आयोजकहरूको विश्वास छ।












Leave a Reply