बजेट निगरानीका लागि विज्ञ टोली गठन गरिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरपालिकाको चालू आर्थिक वर्षको बजेट तथा खर्चको पारदर्शिता र सुशासन कायम गर्न ‘चाँगु बजेट वाच एन्ड पोलिसी ल्याब’ नामक विज्ञ टोली स्थापना गर्ने घोषणा गरेको छ । रास्वपा चाँगुनारायण नगर समितिले “गफ होइन, डेटा; भाषण होइन, हिसाब !” भन्ने मूल नाराका साथ नगरको इतिहासमै पहिलो पटक यस्तो स्वतन्त्र निगरानी टोलीको अवधारणा ल्याइएको हो । स्थानीय तहमा हुने बजेटको अपारदर्शी खर्च, अलपत्र परेका पूर्वाधार, खानेपानी समस्या र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै तथ्यांकमा आधारित सुशासन प्रवर्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रास्वपा चाँगुनारायण नगर सभापति रोशन थापाले जानकारी गराए । नगर समितिले सार्वजनिक गरेको योजना अनुसार यस ‘हिसाब–किताब चाँगु’ अभियानले मुख्य चार क्षेत्रमा केन्द्रित रहेर कार्य गर्नेछः नगरपालिका तथा वडा तहमा विनियोजन हुने बजेट कहाँ, कसरी र कुन गुणस्तरमा खर्च भइरहेको छ भन्ने विषयको वैज्ञानिक लेखाजोखा गरिने छ भने अपारदर्शी टेन्डर, नीतिगत भ्रष्टाचार तथा अलपत्र परेका विकास योजनाहरूको तथ्य र डेटा सार्वजनिक गरिनुका साथै भ्रष्टाचार वा अनियमितता भएको प्रमाण भेटिएमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतमा आधिकारिक उजुरी दर्ता गर्नेसम्मको ठोस कदम चालिनेछ । यस्तै, केवल विरोधमा मात्र सीमित नभई चाँगुनारायणको दिगो विकासका लागि विभिन्न क्षेत्रका विशेषज्ञहरू मिलेर आगामी ५ वर्षको स्पष्ट गुरुयोजना पनि तयार पारिनेछ । यस अभियानमा इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, सूचना प्रविधि विज्ञ, वकिल, पत्रकार तथा अध्ययनशील युवाहरूलाई समेट्ने नगर सभापति थापाले जानकारी दिए । नगर सभापति थापाले चाँगुको समग्र विकास र सुशासनमा योगदान पुर्याउन चाहने इच्छुक नागरिक तथा युवाहरूलाई आवेदन फाराममार्फत अभियानमा जोडिन आह्वान गरेका छन् । सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सहजै आवेदन फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । यस अभियानमा आबद्ध हुन पार्टी सदस्यता अनिवार्य नगरिएकाे थापाले बताए ।













Leave a Reply