नबराज काफ्ले
चाँगुनारायण/दुवाकोट भाद्र ०१
“विपद् बाजा बजाएर आउँदैन, त्यसैले पूर्वतयारी नै उत्तम सुरक्षा हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाले स्थानीय ८ वटा विद्यालय तथा विभिन्न निकाय गरी ११ संस्थालाई प्राथमिक उपचार किट (First Aid Kit) वितरण गरेको छ । रु. १,०४,६९१ को आफ्नै लगानीमा सामग्री खरिद गरी वितरण गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । वडाध्यक्ष सोम प्रसाद प्रधानको प्रमुख आतिथ्य र उपशाखा सभापति प्रमिला प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा विषयगत विशेषज्ञ र प्रतिनिधिहरूले गहन विचार व्यक्त गर्नुभएको थियो । दुवाकोट स्वास्थ्य चौकी प्रमुख कुमार केसी र प्रहरी प्रभाग प्रमुख खिल बहादुर दुलालले सडक दुर्घटना वा आकस्मिक चोटपटकमा प्राथमिक उपचारले पुर्याउने योगदानबारे चर्चा गर्दै ‘फर्स्ट एड’ लाई हरेक घर र विद्यालयको पहुँचमा पुर्याउनुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी चाँगुनगर संयोजक मन्दिरा कार्की तथा वडा सदस्य उमेश प्रधान,प्रेम खत्री,राधा माकाजु एवम सीता मिजारले विद्यालय स्तरमा जुनियर रेडक्रस सर्कल मार्फत बालबालिकालाई प्राथमिक उपचार तालिम दिनुपर्नेमा जोड दिनुभयो। नेपाल रेडक्रस दुवाकोट उपशाखा संस्थापक सभापति शिवहरी केसी एवं सल्लाहकारद्वय नवराज काफ्ले र दिनेश प्रधानले रेडक्रसका सात सिद्धान्त (मानवता, निष्पक्षता, तटस्थता आदि) को परिधिभित्र रहेर गरिने सामाजिक कार्यले नै समाजमा रेडक्रसको साख उच्च राख्ने विचार व्यक्त गर्नुभयो । सचिव ऋषिराज खड्काको सहजीकरण र मदनकृष्ण न्यौपानेको स्वागतबाट सुरु भएको सो कार्यक्रमले स्थानीय निकाय र नागरिक समाजबिच सेवाभावको उत्कृष्ट उदाहरण पेश गरेको छ। प्राथमिक उपचार सामग्री वितरण गर्नु प्रशंसनीय कदम हो । तर, सामग्री दिगो रूपमा प्रयोग भयो कि भएन र औषधीहरूको म्याद गुज्रियो/गुज्रिएन भनेर उपशाखाले आवधिक अनुगमन (Periodic Monitoring) गर्न आवश्यक छ। सामग्रीसँगै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई प्राथमिक उपचारसम्बन्धी व्यावहारिक (Hand-on) तालिम नियमित रूपमा सञ्चालन गर्न सके यसको प्रभावकारिता दोब्बर हुने सहभागी विद्यालयका प्रतिनिधि बताउछ्न । चाँगुनारायण नगरपालिका र वडा कार्यालयले आफ्नो वार्षिक विपद् व्यवस्थापन बजेटबाट रेडक्रसका यस्ता जनहितकारी कार्यक्रमलाई दीर्घकालीन बजेट विनियोजन गरी हातेमालो गर्नु उपयुक्त देखिन्छ













Leave a Reply