भक्तपुरमा ग्यास लिन मध्यरातदेखि नै उपभोक्ताको लाइन
भक्तपुर, ३१ साउन। काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव बढेपछि भक्तपुरमा समेत ग्यास लिन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास पाउने आशामा उपभोक्ताहरू बिहान तीन बजेदेखि नै लाइनमा बस्न थालेका छन्।
नियमित विक्रेताबाट सहज रूपमा ग्यास पाउन नसकेपछि उपभोक्ताहरू राति नै ग्यास बिक्री हुने स्थानमा पुगेर लाइन बस्न बाध्य भएका हुन्। बिहान उज्यालो नहुँदैदेखि ग्यास लिन आउने उपभोक्ताको संख्या बढ्दै गएपछि लामो लाइन लागेको छ।
काठमाडौं उपत्यकामा ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा आज विभिन्न स्थानबाट विशेष बिक्रीवितरणको व्यवस्था गरिएको छ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानबाट ग्यास बिक्री गर्ने व्यवस्था मिलाइए पनि भक्तपुरमा समेत ग्यासको अभावका कारण उपभोक्ता बिहानैदेखि लाइनमा बस्न पुगेका हुन्।
निगमले नियमित विक्रेताबाट ग्यास पाउन नसकेका र अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी विशेष बिक्रीको व्यवस्था गरेको जनाएको छ। ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गर्ने व्यवस्था गरिएको छ। यही स्थानमा ग्यास लिन बिहानैदेखि उपभोक्ताको भीड लागेको हो।
ग्यास लिन आएका उपभोक्ताले नियमित समयमा ग्यास नपाउने अवस्था भएपछि बाध्य भएर घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन्। कतिपय उपभोक्ता राति नै आएर पालो कुर्न थालेका थिए।
काठमाडौं उपत्यकामा पछिल्लो समय ग्यासको आपूर्ति नियमित नहुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। विशेष बिक्रीको व्यवस्थाले तत्काल केही राहत पुग्ने अपेक्षा गरिए पनि उपभोक्ताले भने नियमित रूपमा सहज र पर्याप्त ग्यास उपलब्ध गराउन माग गरेका छन्।












Leave a Reply