भक्तपुर, भदौ १ । नेपाली सुगम संगीतका लोकप्रिय गायक तथा संगीतकर्मी स्वर्गीय अरुण थापाको २७औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा विशेष सांगीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। भक्तपुर सांगीतिक समाजको आयोजनामा शनिबार भक्तपुर–१, श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा सम्पन्न कार्यक्रममा सयौँ संगीतप्रेमी, कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। दर्शकको बाक्लो उपस्थितिका कारण कार्यक्रमस्थलको सभाहल भरिभराउ बनेको थियो। कार्यक्रममा स्वर्गीय अरुण थापाका कालजयी गीत तथा संगीत प्रस्तुत गर्दै उहाँको सांगीतिक योगदानको स्मरण गरिएको थियो। उहाँका लोकप्रिय सिर्जनाहरू प्रस्तुत भइरहँदा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए। कार्यक्रमको सभापतित्व भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले गरेका थिए भने वरिष्ठ गायक प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा मोडर्न स्कुल तथा कलेजका संस्थापक अध्यक्ष बाबुकाजी कसपाल, हिसान भक्तपुरका अध्यक्ष डा. अनिल कसपाल, प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपाल, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ संगीतकार राजु सिंह तथा समाजका सल्लाहकार ध्रुव मधिकर्मीलगायत संगीत तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अरुण थापाका ‘जति माया लाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘आँखाको निन्द खोसिलाने’ र ‘चोट के हो, व्यथा के हो’ लगायत लोकप्रिय गीतहरू प्रस्तुत गरिएका थिए। कालजयी गीतहरू प्रस्तुत भइरहँदा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए। भक्तपुर सांगीतिक समाजकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक शशी कायस्थले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रममा समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले नेपाली संगीतका अग्रज स्रष्टाहरूको योगदानलाई नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता सांगीतिक कार्यक्रमलाई निरन्तरता दिइने बताए। आयोजकका अनुसार कार्यक्रमले अरुण थापाका कालजयी सांगीतिक सिर्जना तथा योगदानलाई नयाँ पुस्तामाझ पुर्याउनुका साथै भक्तपुरको सांगीतिक वातावरणलाई थप सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
अरुण थापाको २७औँ स्मृति दिवसमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली कार्यक्रम












Leave a Reply