नगरकोट, २५ असोज । ३२औँ विश्व शिक्षक दिवसको अवसरमा वी क्यान एजुकेसन नेपाल, भक्तपुरले सदस्य विद्यालयमा लामो समयदेखि समर्पित भई शिक्षण सेवामा योगदान पुर्याउँदै आएका शिक्षक–शिक्षिकालाई सम्मान गरेको छ। शिक्षकको योगदानको कदर गर्ने, शिक्षण पेसाप्रति सम्मान बढाउने तथा शैक्षिक क्षेत्रका सरोकारवालाबीच सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
नगरकोटस्थित होटल भिस्टा रिट्रिटमा आयोजित कार्यक्रममा दीर्घ शिक्षक सेवा सम्मानअन्तर्गत सम्मानपत्र, मेडल, तक्मा तथा मोटिभेसनल पुस्तक प्रदान गरिएको थियो। सम्मानित शिक्षकलाई प्रोत्साहनस्वरूप शैक्षिक चलचित्रको टिकट पनि दिइएको थियो।
पाथीभरा एकेडेमीकी लक्ष्मी प्रधानाङ, सभ्यता शिक्षालयकी महिमा बयलकोटी, आरक्षण नेशनल एकेडेमीकी रितिमा भारती, ऋतम्भरा पाठशाला/कलेजकी रञ्जना चौगुठी, शिक्षा इङ्लिस स्कुलकी शारदा खड्का र माम्ती नेशनल स्कुलकी ममिता कार्की दीर्घ शिक्षक सेवा सम्मानबाट सम्मानित भएका छन् ।
शिक्षक राष्ट्र निर्माणका आधारस्तम्भ: अध्यक्ष सिटौला
कार्यक्रमका सभापति तथा वी क्यान एजुकेसन नेपालका अध्यक्ष रमेशप्रसाद सिटौलाले शिक्षकको समर्पण, त्याग र योगदानको सम्मान गर्नु संस्थाका लागि गौरवको विषय भएको बताए। उनले शिक्षकलाई केवल पाठ्यपुस्तकको ज्ञान दिने व्यक्तिका रूपमा मात्र नभई विद्यार्थीको चरित्र निर्माण गर्ने, जीवनोपयोगी सीप विकास गर्ने र जिम्मेवार नागरिक उत्पादन गर्ने राष्ट्र निर्माणको आधारस्तम्भका रूपमा चित्रण गरे।
“शिक्षक पेसा केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो समाज र राष्ट्रको भविष्य निर्माण गर्ने दीर्घकालीन जिम्मेवारी हो,” उनले भने। शिक्षकले बदलिँदो शैक्षिक प्रणालीअनुसार आफूलाई अद्यावधिक गर्दै विद्यार्थीलाई हाँस्दै, खेल्दै सिक्ने, भय र दबाबरहित, दण्डरहित, सिर्जनात्मक तथा बालमैत्री वातावरण दिनुपर्ने उनको जोड थियो। नैतिकता, अनुशासन, संस्कार, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गराउनु आजको शिक्षाको प्रमुख आवश्यकता भएको उनले बताए।
शिक्षा क्षेत्रका नीतिगत विषय उठाउँदै अध्यक्ष सिटौलाले विद्यालयले सरकारी नीति–नियम पालना गर्नुपर्ने र विद्यालयका वास्तविक समस्यालाई पनि सम्बन्धित निकायले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखे। उनले कक्षा ५ सम्म आन्तरिक मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन, बदलिँदो शिक्षण पद्धतिअनुसार शिक्षकको क्षमता विकास तथा निजी विद्यालयका व्यावहारिक समस्याको समाधानमा समन्वय आवश्यक रहेको बताए। आइतबार विद्यालय सञ्चालनसम्बन्धी सरकारी निर्णय कार्यान्वयनका क्रममा विद्यालयले भोग्नुपरेका चुनौती उल्लेख गर्दै उनले विद्यालय, सरकार र अभिभावकबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका प्रकाशन संस्था तथा पुस्तक व्यवसायीका प्रतिनिधिलाई कदरपत्र प्रदान गरियो। सम्मानित हुनेमा ग्रीन पब्लिकेसन, निमा पब्लिकेसन, स्वस्तिक पब्लिकेसन, अलाइड पब्लिकेसन, एकता पब्लिकेसन, आशिष् पब्लिकेसन तथा भक्तपुर पुस्तक व्यवसायी सङ्घका उपाध्यक्ष एवं सत्य शक्ति पुस्तक भण्डारका प्रोप्राइटर महेश थापा छन्। त्यस्तै शिक्षा तथा सञ्चार क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मी पनि सम्मानित भएका छन् ।
शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने सदस्य विद्यालयलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक उपलब्धिसँगै खेलकुद, कला, साहित्य, प्रश्नोत्तर प्रतियोगिता र अन्य सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।
गायक सरोज के.सी. र सुरज कपालीले साङ्गीतिक प्रस्तुति दिएका थिए भने निर्मल महतले बिङ्गो खेल सञ्चालन गरे। सहभागी विद्यालयको गायन, नृत्य, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिले कार्यक्रमलाई उल्लासमय बनाएको थियो। संस्थाका सल्लाहकार जगदिश पौडेलले स्वागत मन्तव्य राखे भने सचिव कमलबहादुर सुवालले कार्यक्रम सञ्चालन गरे। कार्यक्रम संयोजक अनिश खत्रीले कार्यक्रमको उद्देश्य र संस्थाका गतिविधिबारे जानकारी दिए।
समापन सन्देशमा अध्यक्ष सिटौलाले शैक्षिक क्षेत्रको विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भन्दै विद्यालय, शिक्षक, अभिभावक, प्रकाशन संस्था, पुस्तक व्यवसायी, सञ्चारकर्मी तथा सम्बन्धित निकायबीच हातेमालो आवश्यक रहेको बताए। शिक्षकको सम्मानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी उनीहरूको योगदानको निरन्तर कदर गर्ने, पेसागत विकासका अवसर सिर्जना गर्ने र शिक्षण पेसालाई सम्मानित तथा दीर्घकालीन बनाउनुपर्ने उनको भनाइ थियो।












Leave a Reply