जयराम बिडारी
कार्तिक,काठमाडौँ
महाकवि देवकोटाको ११८ औँ जन्मजयन्तीमा ढकालको ‘महाकवि देवकोटाका महाकाव्यमा मिथक‘ सडकबाटै विमोचन काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्तीको शुभ अवसर पारेर समालोचक बद्रीप्रसाद ढकालद्वारा लिखित अनुसन्धानमूलक कृति ‘महाकवि देवकोटाका महाकाव्यमा मिथक’ को एक विशेष समारोहबिच सडक लोकार्पण गरिएको छ। पठन संस्कृतिको प्रवर्द्धनका लागि सञ्चालित ‘सडक विमोचन कार्यक्रम’ को १९ औँ शृङ्खलाअन्तर्गत उक्त नयाँ कृति बजारमा ल्याइएको हो। अनुसन्धान विमर्श नेपालले प्रकाशन गरेको सो पुस्तकमा महाकवि देवकोटाका छ वटै महाकाव्यमा प्रयुक्त मिथकहरूको गहन एवं मिहिन खोज र विश्लेषण गरिएको छ। कार्यक्रमका संयोजक डा. नवराज रिजालले नेपाली समालोचनाको क्षेत्रमा ढकालको निरन्तर योगदानको प्रशंसा गर्दै देवकोटाका महाकाव्यमा रहेका पौराणिक तथा सांस्कृतिक मिथकहरूको सूक्ष्म अनुसन्धान नै यस कृतिको मुख्य सबल पक्ष रहेको बताउनुभयो। सोही अवसरमा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले समालोचनाको क्षेत्रमा बद्रीप्रसाद ढकाल निरन्तर सक्रियताको पर्याय बनेको उल्लेख गर्नुभयो। उहाँले ढकालले विभिन्न खोजमूलक कृतिहरूमार्फत नेपाली साहित्यमा नयाँ आयाम थप्न सफल भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमका सदस्य राजाराम बर्तौलाले महाकवि देवकोटाको योगदानको स्मरण गर्दै उहाँका महाकाव्यभित्रका मिथक खोज्नु आफैँमा महत्त्वपूर्ण अनुसन्धान भएको धारणा राख्नुभयो। यस्तै, साहित्यकार तथा पत्रकार शरद प्रधानले साहित्य र समालोचनाको क्षेत्रमा निरन्तरताको ठूलो महत्त्व हुने बताउँदै लेखक ढकालको क्रियाशीलता अनुकरणीय रहेको उल्लेख गर्नुभयो। कृतिका लेखक एवं समालोचक बद्रीप्रसाद ढकालले महाकवि देवकोटाको ११८ औँ जन्मजयन्तीको पावन अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै यो कृति समर्पित गरिएको जानकारी दिनुभयो। मिथकको विषयमा केन्द्रित भई तयार पारिएको यो पुस्तक पढेर रचनात्मक प्रतिक्रिया दिन उहाँले पाठकहरूसँग आग्रह गर्नुभयो। सडक विमोचनको उक्त नौलो र भव्य कार्यक्रममा साहित्यकारहरू ज्ञानेन्द्र विवश, माधव नेपाल, गंगाप्रसाद भेटवाल, विदुर गौतम, डा. छायादत्त न्यौपाने, घनबहादुर थापालगायत विभिन्न स्रष्टा, अनुसन्धाता तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।












Leave a Reply