कविता न्यौपाने महत
आँगनमा बडादसैं भित्रिएको छ। गाउँघरतिर मालश्री धुन गुञ्जिरहँदा र छिमेकीका छतमा रङ्गीचङ्गी चङ्गाहरू उडिरहँदा, मेरो मनको आकाशमा भने जिम्मेवारी र कर्तव्यका काला बादलहरू मडारिएका छन्। संसारका लागि दसैं उमङ्ग होला, तर दुईवटा साना छोराछोरीकी आमा म—मेरो लागि यो चाड एउटा अघोषित परीक्षा बनेर आउँछ। निधारमा अक्षता र मनमा चिन्ता जब साना छोराछोरी “मामु, यसपालि दसैंमा मेरो नयाँ लुगा कस्तो आउँछ?” भनेर सोध्छन्, तब मेरो मुटु चस्स बिझ्छ। उनीहरूका निर्दोष आँखामा दसैंको जुन खुसी छ, त्यसलाई जोगाउनु मेरो परम कर्तव्य हो। तर, रित्तो खल्ती र सीमित आम्दानीका बीच उनीहरूका साना-साना रहरहरू पूरा गर्नु मेरो जीवनको सबैभन्दा ठुलो पिरलो बनेको छ। बजारको महँगी एकातिर छ, घरको गर्जो टार्ने चुनौती अर्कोतिर। आमा हुनुको यथार्थ एउटी आमा भएपछि आफ्नो लागि भोक, तिर्खा वा नयाँ चोलाको कुनै अर्थ रहँदैन। मेरो सम्पूर्ण संसार नै यी दुई सन्तान हुन्। दसैंको दिन उनीहरूलाई एकसरो नयाँ कपडा लगाइदिएर, मीठो-मसिनो ख्वाउन पाएँ भने मेरो तिहार र दसैं त्यहीँ सफल हुन्छ। तर, त्यो एकसरो कपडा जुटाउनका लागि पर्दापछाडि मैले कति आँसु लुकाउनुपर्छ, कतिवटा इच्छाको गला घोट्नुपर्छ र कति रात अनिँदो बस्नुपर्छ—त्यो केवल म र मेरो सिरानीलाई मात्र थाहा छ। पीडा लुकाएर मुस्कुराउनुको नाम ‘आमा’ चाडबाडमा सबैका श्रीमान्, दाजुभाइ घर फर्कँदा, परिस्थितिको बाध्यताले एक्लै दुई छोराछोरीको भविष्य धान्नुपर्दाको एकाकीपन बयान गरिसाध्य छैन। भित्र मन रोइरहेको हुन्छ, तर ओठले मुस्कुराउनै पर्छ। किनकि म कमजोर भएँ भने मेरा ती दुईवटा कोपिलाहरू ओइलाउनेछन्। आमा हुनुको अर्थ नै सायद यही हो—आफ्ना सारा पिर र व्यथाहरूलाई थाती राखेर, सन्तानको ओठमा मुस्कान फुलाउनका लागि कर्तव्यको अग्निपरीक्षामा निरन्तर जलिरहनु। यसपालिको दसैंमा पनि म कोसिस गर्नेछु—मेरो थाप्लोको ऋण र मनको पिरलो छोराछोरीले थाहा नपाऊन्। टीका लगाइदिँदा मेरा हातहरू नकपकाऊन् र मेरो आशिषले उनीहरूको भविष्य सधैं उज्यालो बनोस्। ……












Leave a Reply