एस एस कलेज भक्तपुरका निशेष खड्का भए नेपाल दोश्रो

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८३ साल असारमा सञ्चालित बीबीएस चौथो वर्षको परीक्षाको हालै प्रकाशित परीक्षाफल अनुसार मध्यपुर थिमी–०४, एस एस चोकमा अवस्थित इनोभेटिभ सनसाइन कलेज (एस एस कलेज), भक्तपुरका विद्यार्थी निशेष खड्का ८७. २ प्रतिशत नम्बर ल्याउन सफल भएका छन् । बि बि एस प्रथम वर्षमा उपत्यका प्रथम हुन सफल भै कलेजबाट नगद पुरस्कार सहित सम्मानित भएका निशेष चौथो वर्षको परीक्षामा भने नेपाल द्वितीय हुन सफल भएका हुन्। कूल परीक्षार्थीहरुको ७५ प्रतिशत विद्यार्थीलाई प्रथम श्रेणीमा उत्तीर्ण गराउन सफल कलेजका विद्यार्थी रोशन श्रेष्ठ ८५.६ प्रतिशत सहित दोश्रो र संजिता तामांग ७८. ८ प्रतिशत ल्याई तेश्रो स्थान प्राप्त गर्न सफल भएको कुरा कलेज प्रशासनले जनाएको छ।
उनको उत्कृष्ट नतिजाले कलेजको शैक्षिक उपलब्धिमा थप गौरव थपिएको कलेज प्रशासनले जनाएको छ। कलेजका प्राचार्य राजन प्रसाद काफ्लेले अध्ययन, नेतृत्व क्षमता, खेलकुद, आदि सबै जसो क्षेत्रमा खड्काको सहभागिता उदाहरनीय रहेको कुरा उल्लेख गर्दै यो सफलतामा विद्यार्थीको मेहनत र लगनशीलतासँगै, साथीहरुको साथ सहयोग, अभिभावक, प्राध्यापक तथा कलेज प्रशासनको समेत महत्वपूर्ण भूमिका रहेको बताए। उनले विद्यार्थीको शैक्षिक प्रगति र सफलताका लागि कलेजले निरन्तर सहजीकरण तथा आवश्यक वातावरण निर्माण गर्दै आएको उल्लेख गरे।
वि.सं. २०६३ सालमा स्थापना भइ गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक नतिजालाई प्राथमिकतामा राख्दै आएको कलेजले हाल कक्षा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धनमा कक्षा ११ र १२ तथा त्रिभुवन विश्वबिद्यालयको सम्बन्धनमा व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएस तहमा अध्यापन गराउँदै आएको छ। विश्व बजारमा भइरहेको तीव्र परिवर्तन, बढ्दो प्रतिस्पर्धा र रोजगारीका बदलिँदा आवश्यकतालाई मध्यनजर गर्दै कलेजले विद्यार्थीलाई व्यावहारिक, व्यावसायिक तथा प्रतिस्पर्धी ज्ञान र सीप प्रदान गर्दै आएको जनाएको छ। साथै, विद्यार्थीलाई शिक्षा, समाज र राष्ट्रसँग जोड्ने उद्देश्यले विभिन्न अतिरिक्त शैक्षिक, सामाजिक तथा व्यावहारिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कलेज प्रशासनले जनाएको छ।
हालै प्रकाशित बीबीएस चौथो वर्षको परीक्षाफलले विद्यार्थी, अभिभावक, प्राध्यापक तथा समग्र कलेज परिवारमा थप उत्साह, खुसी र गौरवको वातावरण सिर्जना गरेको कलेज प्रशासनले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *