नारायणमान वनमाला
मातृसत्तात्मक कालको मानव समाजमा दानवहरूले दिइरहेको दुःख तथा अत्याचारको अन्त्य गर्न श्री नवदुर्गा देवगण (अष्टमातृका) को उत्पत्ति भई दानवहरूको संहार गरिएको ऐतिहासिक तथा पौराणिक मान्यतालाई मानव समाजमा बाजाको ताल, मुकुन्डो, पोसाक, गरगहना तथा खड्ग (हतियार) सहित भाषा, बोली, गीत र नाटकमार्फत प्रस्तुत गर्दै भावी पुस्तालाई यस संस्कृतिको जानकारी तथा दिशा–निर्देशन गर्ने उद्देश्यले भक्तपुरमा श्री नवदुर्गा देवगण जात्रा सञ्चालन हुँदै आएको छ।
नेपालकै लामो जात्राका रूपमा परिचित भक्तपुरको श्री नवदुर्गा देवगण जात्रा सांस्कृतिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण परम्परा हो। मानव समाजमा आधारित यस जात्रामा देवगणहरूलाई जीवित देवताको रूपमा पूज्ने परम्परा रहिआएको छ। वर्षभरि विभिन्न तिथि तथा मितिमा नवदुर्गा देवगणका जात्रा सञ्चालन हुने गर्छन्। करिब ६ महिना मुकुन्डोसहित र करिब ६ महिना मुकुन्डोविनाको जात्रा हुने ऐतिहासिक परम्परा रहेको छ।
हरेक वर्ष जात्रालाई निरन्तरता दिने क्रममा यस वर्ष पनि मंगल चौथी अर्थात् चोथा पूजाका दिन श्री नवदुर्गा देवगणको विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। यस अवसरमा देवगणहरूले बिहानैदेखि आ–आफ्नो घरमा विशेष पूजाको तयारी गरी भक्तपुर नगरपालिका–९ गछेँस्थित मन्दिरमा पूजा सामग्री भित्र्याउने गर्छन्। त्यसपछि देवगणहरूले आ–आफ्नो देवताको जिम्मेवारी ग्रहण गरी सेतो जामा (गाजिनां) पोसाक पहिरिन्छन्। मन्दिरमा विशेष पूजा सम्पन्न गरी भक्तपुर नगरपालिका–९ वडा झ्यापो नासध्वो मन्दिरतर्फ प्रस्थान गर्ने परम्परा रहेको छ।
ऐतिहासिक किंवदन्तीअनुसार देवगणहरूले देवताको नाच लिइरहेको अवस्थामा नित्यनाथ पूजा गरिन्छ। नाचको तालिम सफल होस् भन्ने उद्देश्यले सम्पूर्ण देवगणहरू लामबद्ध भएर नित्यनाथ पूजा गर्न जाने गर्छन्। उक्त पूजामा कर्मचारीद्वारा तान्त्रिक विधिअनुसार पूजा गरिने र थुमा (बोका) को बलि चढाउने परम्परा रहेको छ।
नित्यनाथ पूजा सम्पन्न भएपछि प्रसाद ग्रहण गरी सोही दिन देवगणहरूले तालिम लिइरहेको नाच मुकुन्डोविना सेतो जामा (गाजिनां) पहिरिएर मन्दिरको मूलचोकमा प्रदर्शन गर्ने गर्छन्। यस क्रममा पहिलोपटक गणेश, ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, महाकाली, भैरव र सिद्धिदुम बालकुमारीलगायत देवगणहरूको पालैपालो नाच प्रदर्शन गरिन्छ।
यसै क्रममा सर्वप्रथम मंगलसिद्धि नाच प्रदर्शन गरिन्छ। अन्त्यमा केही अंश सम्पूर्ण देवगणहरूको ‘गोसौतानेगु’ नाच आ–आफ्नो देवगणको जिम्मेवारीअनुसार बाजाको तालमा प्रस्तुत गर्ने परम्परा रहेको छ। त्यसपछि देवगणहरूले चोथा पूजाका लागि आवश्यक सम्पूर्ण सामग्रीको तयारी गरी मन्दिरमा चढाउनुपर्ने विशेष पूजा सम्पन्न गर्छन्। सोही अवसरमा देवगणका सम्पूर्ण परिवारले रात्रीभोज गरी मंगल चौथी अर्थात् चोथा पूजा सम्पन्न गर्ने परम्परा रहेको छ।
विजयादशमीका लागि काठ संकलन
चोथा पूजाको दोस्रो दिन पनि सम्पूर्ण देवगणहरू मन्दिरमा भेला हुन्छन्। विजयादशमीका दिन ब्रह्मायणी पीठमा गरिने यज्ञका लागि आवश्यक काठ तयार गर्न उनीहरू पीपलको बोट भएको स्थानमा जाने गर्छन्। ब्रह्मायणी देवगणको बाहुल्यमा शुभ साइत गरी काठ तथा दाउरा मन्दिरमा भित्र्याउने ऐतिहासिक परम्परा रहेको छ। सोही दिन साँझ देवगण परिवारको पूजासहित भोज तथा प्रसाद ग्रहण गर्ने परम्परा पनि रहिआएको छ।
गठामुगः चन्हे (गाथामंगल चन्हे) पछि नयाँ पुस्ताका देवगणहरूले करिब दुई महिनाको अवधिमा विजयादशमीसम्म आवश्यक तालिम प्राप्त गरी देवगणको जिम्मेवारी निर्वाह गर्नुपर्ने परम्परा रहेको छ।
लिखित अभिलेखभन्दा मौखिक परम्परामा आधारित संस्कृति
श्री नवदुर्गा देवगण जात्राको अर्को महत्वपूर्ण विशेषता यसको मौखिक परम्परा हो। हालसम्म यस संस्कृतिमा ठूलो परिमार्जन नगरी नाच, भाषा र ताललाई पुस्तौँदेखि निरन्तरता दिइँदै आएको छ। यी विधा तथा तालहरूको व्यवस्थित लिखित लिपिबद्ध अभिलेखको अवस्था कमजोर भएकाले गुरु तथा अग्रजबाट शिष्यमा तालिममार्फत ज्ञान हस्तान्तरण हुँदै आएको छ।
परापूर्वकालदेखि चल्दै आएको यस परम्परालाई निरन्तरता दिन विभिन्न नेवारी जाति तथा समुदायको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहँदै आएको छ। जुसिबजु, चित्रकार, कर्माचार्य, प्रजापति, मानन्धर, साही, कुसले, शाक्य र उजाजू (वनमाला) लगायतका समुदायले विभिन्न तिथि तथा मितिमा आवश्यक भूमिका निर्वाह गर्दै श्री नवदुर्गा देवगण जात्रा सञ्चालनमा योगदान पुर्याउँदै आएका छन्।
जाति तथा समुदायअनुसारको जिम्मेवारी
१. उजाजू–वनमाला
देवगणको भूमिका वर्षभरि जिम्मेवारीका साथ निर्वाह गर्दै जात्रा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने समुदायका रूपमा उजाजू–वनमाला परिवार रहेको छ।
२. जुसिबजु
ज्योतिष तथा नामकरणका दिन आफ्नो बाहुल्यताबाट देवगणहरूको नामावली (नामधलं) तयार गर्ने विशेष जिम्मेवारी जुसिबजु समुदायको रहेको मानिन्छ।
३. पुन्चा–चित्रकार
देवगणका सम्पूर्ण मुकुन्डाहरू तयार गर्ने विशेष जिम्मेवारी चित्रकार समुदायको रहेको छ।
४. आचाजू–कर्माचार्य
देवगण जात्रामा गरिने विशेष तान्त्रिक पूजाको जिम्मेवारी कर्माचार्य समुदायले निर्वाह गर्दै आएको छ।
५. हाकुज्या–प्रजापति
देवगणका लागि आवश्यक माटाका कलश, माटाका भाँडाकुँडा लगायत सामग्री तयार गरी सहयोग गर्ने जिम्मेवारी प्रजापति समुदायको रहेको छ।
६. सायमी–मानन्धर
भक्तपुर नगरपालिका–५ याछेँमा विजयादशमीका दिन मुकुन्डो लिन जाने तथा भलभल अष्टमीका दिन जाँदा कंहा बाजा बजाउने जिम्मेवारी मानन्धर समुदायले निर्वाह गर्दै आएको छ।
७. जुगिचा–कुसुले
गठामुगः अर्थात् गाथामंगल चन्हेको दिन जात्राका लागि महालिङ्ग बाजा बजाउने जिम्मेवारी कुसुले समुदायको रहेको छ।
८. नांयचा–साही
विजयादशमीको खमे जात्रामा बलि दिने, नायोखिङ बाजा बजाउने तथा राँगो बलि दिने जिम्मेवारी साही समुदायसँग सम्बन्धित रहेको छ।
९. बारेजू–शाक्य
देवगणलाई आवश्यक चाँदीका सामग्री तथा अन्य जिन्सी सामग्री चढाउने, चाँदीका जायघण्टा धुलाउने तथा देवगणलाई भोजन चढाउने जिम्मेवारी शाक्य समुदायले निर्वाह गर्दै आएको छ।
अन्य सहभागी समुदायको भूमिका
यस जात्रामा विभिन्न तिथि तथा मितिमा अन्य नेवारी समुदायका सीमित व्यक्तिहरूले समेत आ–आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
१०. मुस्याख्व जाति
खमे जात्रामा खमे समाउने तथा थिम बाजा मर्मतका लागि आर्थिक सहयोग गर्ने जिम्मेवारी निर्वाह गर्ने समुदाय।
११. न्हुसुवाल
विजयादशमीका दिन मुकुन्डो हस्तान्तरण गर्ने क्रममा देवगणलाई जलपान (गुचु–गुचु) गराउने जिम्मेवारी निर्वाह गर्ने समुदाय।
१२. मगजु
देवगणलाई आवश्यक कमलको फूल तथा पात उपलब्ध गराउने जिम्मेवारी निर्वाह गर्ने समुदाय।
१३. राजोपाध्याय
देवगणको बेलविवाह तथा विभिन्न तिथि–मितिका पूजाका लागि सरसल्लाह दिने र सिजानकेगु (अन्तिम भोजन) खुवाउने जिम्मेवारी निर्वाह गर्ने परम्परा रहेको छ।
साझा प्रयासबाट जीवित संस्कृति
श्री नवदुर्गा देवगण जात्रा केवल एउटा जात्रा मात्र नभई भक्तपुरको सामाजिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक जीवनसँग प्रत्यक्ष जोडिएको जीवित सम्पदा हो। यस परम्परालाई निरन्तरता दिन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पूर्ण नेवारी समुदाय तथा श्रद्धालु भक्तजनको महत्वपूर्ण योगदान रहँदै आएको छ।
परापूर्वकालदेखि भक्तपुरको ऐतिहासिक धरोहरका रूपमा संरक्षण हुँदै आएको श्री नवदुर्गा देवगण जात्रा आजको पुस्तासम्म आइपुगेको छ। बदलिँदो समय र आधुनिक जीवनशैलीका बीच पनि यसको मूल स्वरूप, नाच, बाजा, भाषा, पोसाक, मुकुन्डो, पूजा तथा विभिन्न संस्कारलाई निरन्तरता दिइनु यस जात्राको महत्वपूर्ण विशेषता हो।
यस संस्कृति तथा पर्व–जात्राका विभिन्न तिथि तथा मिति भक्तपुर तलेजु भवानी मन्दिरका पुजारी परिवार र श्री नवदुर्गा देवगणबीचको सहमति तथा छलफलका आधारमा निर्धारण गरी सञ्चालन हुँदै आएको जानकारी श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाले दिएको छ।
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था
सल्लाहकार : नारायणमान वनमाला












Leave a Reply