श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ र श्यामसुन्दर भजनघरको चर्चा

डा इन्दुल केसी
भक्तपुर नगरपालिका, हाल वडा नं. ४ नासमना मङ्गलाछें टोलस्थित श्री श्यामसुन्दर रास भजन मण्डलका तत्कालीन नाइके स्व. गोविन्दमानसिंह राजभण्डारीले श्रीकृष्ण भगवान्का विभिन्न लीलाहरूका ३७ वटा भजनहरू नेपाल भाषा (नेवारी) मा रचना गर्नुभएको थियो । ती भजनहरूमा उहाँले नै सङ्गीतको लय÷तरज राख्नुभएको थियो । यो भजन उपत्यकाका विभिन्न भजन मण्डलहरूमा गाउने प्रचलन व्यापक रूपमा भइरहेको छ ।
ती भजनहरूलाई सर्वप्रथम नेपाल सम्वत् १०६६ मा भक्तपुर बोलाछें टोलका श्री रत्नभक्त श्रेष्ठले किताब छपाई प्रकाशन गर्नुभएको थियो । यस पुस्तकलाई दोस्रोपटक यसै भजनका तत्कालीन नाइके स्व. हरिभक्त हाडाले २०५७ सालमा पुनः प्रकाशन गर्नुभएको थियो । यो पुस्तकको माग भजनप्रेमी भक्तहरूले गरिरहेका छन् ।
उक्त पुस्तकमा रहेका भजनहरू हाम्रो पवित्र धर्मग्रन्थ श्रीमद्भागवत महापुराणमा रहेका श्रीकृष्णका जन्म लीलादेखि विभिन्न लीलाहरूका बारेमा रचिएका छन् । उक्त नेपाल भाषामा लेखिएका भजनहरूमध्ये छानिएका ११ वटा भजनहरूलाई मैले नेपाली भाषामा अनुवाद गरेको छु । यिनै भजनहरूलाई हिन्दी भाषामा पं. रमेश अधिकारीले अनुवाद गर्नुभएको हो । उल्लिखित तीन भाषामा जम्मा ३३ वटा भजन गानहरू छन् ।
 यो पुस्तक प्रकाशनार्थ नेपाल भारत पुस्तकालयका तत्कालीन अध्यक्ष श्री महेशचन्द्र शर्मा, शब्दयात्रा प्रकाशन, बनेपाका अध्यक्ष हरि मञ्जुश्री, साहित्यकार श्रप् पशुपतिमान पः माँ, ज्यो . पं . श्री रमेश अधिकारी र म स्वयं ( डा. इन्दुल केसी) ले आवश्यक आर्थिक भार बहन गरेका थियौं । सो भजन पुस्तकको ‘भजन सृष्टि ः विविध दृष्टि’ टिप्पणीसङ्ग्रह मेरै सम्पादकत्वमा प्रकाशित भइसकेको छ ।
पुस्तकमा रहेको जन्म लीला सम्बन्धित एउटा भजन यही समावेश गरेको छु ।
जन्म भयो…
जन्म भयो श्री कृष्णहरि कृष्णहरि ।
तिथि अष्टमी भाद्र कृष्ण बुधबार रोहिणी ।
शङ्ख, चक्र, गदा, पद्म हातमा लिई
पीताम्बरको पटुकी र धोती ।।१।।
वसुदेव र देवकीले गरिरहेछन् स्तुति
सुन न हाम्रो बिन्ती ।
बालकरूप नै देखायौ हामीलाई
अज्ञान हाम्रो हटायौ ।।२।।
बिन्ती सुनी त्यहाँ आज्ञा भयो श्रीहरिले
अघिल्लो जन्ममा अदिती तिमी हौ ।
ठूलो तपस्या गरी वर मसँग लियौ
पुत्र भई आएँ अहिले ।।३।।
नन्दको घरमा मलाई पु¥याऊ
उनकी पुत्री बोकी ल्याऊ ।
अनि कंशलाई सुम्पिदेऊ
तब हुन्छ तिम्रो बालक बुझ्यौ ।।४।।
दर्शन देऊ प्रभु मलाई पनि हजुरकै
अन्तकालमा लागोस् मन हजुरमै
दर्शन होस् हजुरकै ।।५।।
उक्त भजनघर २०७२ सालको महाभूकम्पले ध्वस्त भएको हुँदा मेरै अध्यक्षमा गठित भजनघर पुनःनिर्माण समितिले रु. १,५०,००,०००।– (अक्षरेपी एक करोड पचास लाख)को लागतमा भजनघर भव्य रुपमा निर्माण गरी त्यहाँ श्रीकृष्ण, राधा र रुक्मिणीको सुन्दर मुर्ति स्थापना गरिएको छ । यस भजनघरमा हिजोआज भक्तजनहरु भेला भई विभिन्न वाद्यसाधनहरु प्रयोग गरी नियमित संगीतमय भजनकिर्तन भइरहेको छ ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *