ताथलीमा नौ वर्षदेखि भिंतुना र्यालीको निरन्तरता : धिमे नृत्यसहित ज्येष्ठ नागरिक र खेलाडी सम्मानित

भक्तपुर । नेपालको मौलिक संवत् नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा भिंतुना र्याली आयोजना गरिएको छ। प्रगति युवा समाजको आयोजनामा विगत नौ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको भिंतुना र्याली यस वर्ष पनि स्थानीयको उत्साहपूर्ण सहभागिताका बीच सम्पन्न भएको हो।

नेपाल संवत्को नयाँ वर्षलाई स्वागत गर्दै मौलिक भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्यालीले ताथलीको सांस्कृतिक पहिचानलाई उजागर गरेको थियो। र्यालीमा स्थानीय युवा, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कात्तिक २४ गते आयोजित र्यालीको उद्घाटन वनमाला टोलबाट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले गरेका थिए। वनमाला टोलबाट सुरु भएको र्याली ताथली पुल, गोठाले चौर र पण्डित पँधेरो हुँदै फैढोका पुगेर समापन भएको थियो। र्यालीका क्रममा नेपाल संवत्‌को शुभकामना आदानप्रदान गर्दै सांस्कृतिक पहिचान र मौलिक परम्पराको महत्त्वबारे सन्देश प्रवाह गरिएको थियो।

संस्कृति संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण

र्यालीअघि आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि उकेश कवांले कला, भाषा र संस्कृतिको संरक्षण कुनै एक समुदायको मात्र नभई समग्र समाजको साझा दायित्व भएको बताए। देशको स्वाधीनता, राष्ट्रिय पहिचान र सांस्कृतिक अस्तित्वको रक्षाका लागि युवा पुस्ता सचेत हुनुपर्नेमा जोड दिँदै उनले नेपाल संवत् नेपालको मौलिक पहिचान र सांस्कृतिक गौरवसँग जोडिएको संवत् भएको चर्चा गरे। नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र परम्पराबारे जानकारी गराउँदै संरक्षण अभियानमा सहभागी गराउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उनले मातृभाषाका सेवक  मास्टर जगतसुन्दर मल्लले मातृभाषाको संरक्षण र प्रवर्द्धनका लागि आफूले गरेको योगदान तथा आदिवासी जनजातिले भाषा, कला, संस्कृति र साहित्यको संरक्षणका क्रममा विगतमा भोग्नुपरेका प्रताडनाका ऐतिहासिक प्रसङ्ग सुनाए। मातृभाषा केवल सञ्चारको माध्यम मात्र नभई समुदायको इतिहास, सभ्यता, ज्ञान र पहिचान बोकेको सम्पदा भएको उल्लेख गर्दै उनले यसको संरक्षणमा निरन्तर लाग्नुपर्ने बताए।

विशेष अतिथि चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले युवाहरू समाज परिवर्तनका संवाहक भएको उल्लेख गर्दै उनीहरू सामाजिक तथा सांस्कृतिक अभियानमा सक्रिय हुनुपर्ने बताए। युवाहरूलाई लागूऔषध दुर्व्यसनविरुद्ध संगठित भएर लाग्न आग्रह गर्दै उनले वर्गीय चेतना अभिवृद्धि र सामाजिक विकृतिविरुद्धको अभियानमा युवा सहभागिता आवश्यक रहेको धारणा राखे।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका–९ का अध्यक्ष राजाराम छुकांले नेपाल संवतकाे ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे।

ज्येष्ठ नागरिक र खेलाडीलाई सम्मान

कार्यक्रममा वनमाला टोलका ज्येष्ठ नागरिक जयबहादुर वनमालालाई सम्मान गरिएको थियो। समाजमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको कदर गर्दै गरिएको सम्मानले पुस्ताबीचको सम्बन्ध र सामाजिक सम्मानको संस्कारलाई उजागर गरेको थियो।

त्यसै अवसरमा प्रगति युवा समाजको प्रतिनिधित्व गर्दै चाँगु कप प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरूलाई सम्मान गरिएको थियो। स्थानीयस्तरबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।

सांस्कृतिक पर्वको अवसरमा खेलाडीलाई समेत सम्मान गरिनुले कला, संस्कृति र खेलकुदलाई सामाजिक जीवनका अभिन्न पक्षका रूपमा जोड्ने प्रयास गरेको वक्ताहरूले बताए। यसले स्थानीय युवामा खेलकुदप्रतिको उत्साह र सामूहिक पहिचानप्रतिको अपनत्व अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धिमेको तालमा सांस्कृतिक रौनक

भिंतुना र्यालीका क्रममा ताथली धिमे खलको संयोजनमा धिमे नृत्य प्रस्तुत गरिएको थियो। नेवार समुदायको मौलिक बाजा धिमेको ताल र लयमा प्रस्तुत नृत्यले र्यालीमा सांस्कृतिक रौनक थपेको थियो। मौलिक बाजा र नृत्यमार्फत स्थानीय कला तथा सांस्कृतिक परम्पराको जीवन्त प्रस्तुति गरिएको थियो।

नयाँ पुस्तालाई परम्परागत बाजा, नृत्य र सांस्कृतिक अभ्याससँग परिचित गराउने दृष्टिले पनि धिमे नृत्यको प्रस्तुतिलाई महत्त्वपूर्ण मानिएको छ। यस्ता सांस्कृतिक प्रस्तुतिले समुदायको मौलिक पहिचानलाई सार्वजनिक रूपमा उजागर गर्नुका साथै पुस्तान्तरणमा समेत सहयोग पुर्याउँछन्।

नौ वर्षदेखि निरन्तर सांस्कृतिक अभियान

प्रगति युवा समाजका अध्यक्ष हरिसुन्दर छुकांको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्वागत मन्तव्य हरिसुन्दर गोसाईँले राखेका थिए भने रवीन्द्र न्हेम्हाफुकीले कार्यक्रम सञ्चालन गरेका थिए।

सभापति छुकांले ताथलीमा भिंतुना र्याली सुरु गर्नुको पृष्ठभूमि, यसको उद्देश्य र विगत नौ वर्षदेखिको निरन्तरताबारे प्रकाश पारे। नेपाल संवतकाे महत्त्वलाई स्थानीयस्तरमा स्थापित गर्न, मौलिक भाषा तथा संस्कृतिप्रति नयाँ पुस्ताको चासो बढाउन र समुदायबीच सांस्कृतिक एकता कायम गर्न र्‍याली आयोजना गर्दै आएको उनले बताए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, स्थानीयवासी, सहभागी, सहयोगी तथा विभिन्न संघसंस्थालाई उनले धन्यवाद व्यक्त गरे।

स्थानीय युवाहरूको सक्रियतामा सुरु भएको भिंतुना र्याली नौ वर्षसम्म निरन्तर सञ्चालन हुनु आफैँमा सांस्कृतिक अभियानप्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ। पछिल्लो समय नयाँ पुस्तामा मौलिक भाषा, संस्कृति र परम्पराप्रतिको चासो बढाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेला यस्ता कार्यक्रमले स्थानीयस्तरमा सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुर्याउँदै आएका छन्।

नेपाल संवतकाे शुभारम्भलाई नयाँ वर्षको उत्सवमा सीमित नराखी भाषा, साहित्य, कला, संस्कृति, खेलकुद र सामाजिक सम्मानसँग जोड्दै आएको प्रगति युवा समाजको यो प्रयासले ताथलीको सामुदायिक तथा सांस्कृतिक जीवनमा छुट्टै महत्त्व राखेको छ। र्यालीले स्थानीय समुदायमा सांस्कृतिक जागरण फैलाउनुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान, इतिहास, सम्पदा र परम्परासँग जोड्ने काम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *