दीर्घकालीन फोहोर व्यवस्थापन योजना नबनेसम्म फोहोर नल्याउन भालुमारावासीको निर्णय

सिन्धुलीको मरिण गाउँपालिका–३ भालुमाराका स्थानीयवासीले दीर्घकालीन फोहोर व्यवस्थापनको योजना नबनेसम्म आफ्नो क्षेत्रमा फोहोर ल्याउन नदिने निर्णय गरेका छन्। भालुमाराका स्थानीयवासी सरोज मुक्तानका अनुसार करिब ३–४ वर्षअघि गाउँमा फोहोर व्यवस्थापनका लागि फोहोर ल्याउन दिने विषयमा विभिन्न आश्वासन दिइएको थियो। त्यतिबेला पालिकाले फोहोर ल्याउन दिएमा गाउँका सडक कालोपत्रे गर्ने र पक्की पुल निर्माण गर्ने लगायतका विकास निर्माणका काम गरिदिने प्रतिबद्धता जनाएको थियो। तर, स्थानीयवासीले अपेक्षा गरेअनुसार फोहोर व्यवस्थापनको दीर्घकालीन योजना कार्यान्वयन नभएको र फोहोर अव्यवस्थित रूपमा थुपारिँदा वातावरण तथा जनस्वास्थ्यमा असर पर्ने अवस्था देखिएको भन्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

मुक्तानले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइअनुसार फोहोर अव्यवस्थित रूपमा थुपारिँदा पटकपटक आगलागीसमेत हुने गरेको छ। यसले भालुमारा समुदायको स्वास्थ्य, वातावरण, जलस्रोत, वनस्पति तथा समग्र प्राकृतिक सम्पदामा गम्भीर असर पार्न सक्ने जोखिम रहेको उनले बताएका छन्। उनले आफूहरू विकासविरोधी नभएको स्पष्ट पार्दै स्वच्छ वातावरण, सुरक्षित भविष्य र स्वस्थ समाजको पक्षमा रहेको उल्लेख गरेका छन्। विकाससँगै वातावरण संरक्षण पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

‘हाम्रो समुदायले लिएको निर्णयको मूल आशय के हो भने जबसम्म फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना तयार गरी वैज्ञानिक, व्यवस्थित र सुरक्षित ढङ्गले कार्यान्वयन गरिँदैन, तबसम्म दीर्घकालीन रूपमा फोहोर ल्याउन दिने विषयमा सहमति जनाउने निर्णय गरिएको होइन,’ मुक्तानले आफ्नो भनाइमा उल्लेख गरेका छन्। उनले उक्त निर्णय कुनै व्यक्तिको व्यक्तिगत स्वार्थ वा विरोधका लागि नभई समुदायको स्वास्थ्य, वातावरण र भावी पुस्ताको सुरक्षित भविष्यका लागि गरिएको बताएका छन्। विकास र वातावरण एकअर्काका विरोधी नभएको भन्दै दुवैलाई सँगसँगै अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

यस निर्णयले फोहोर व्यवस्थापनका नाममा प्रभावित क्षेत्रका बासिन्दालाई आश्वासन मात्र दिने नभई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *