रास्वपा चाँगुनारायण नगर समितिद्वारा ‘हिसाब–किताब चाँगु’ अभियान घोषणा

बजेट निगरानीका लागि विज्ञ टोली गठन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरपालिकाको चालू आर्थिक वर्षको बजेट तथा खर्चको पारदर्शिता र सुशासन कायम गर्न ‘चाँगु बजेट वाच एन्ड पोलिसी ल्याब’ नामक विज्ञ टोली स्थापना गर्ने घोषणा गरेको छ । रास्वपा चाँगुनारायण नगर समितिले “गफ होइन, डेटा; भाषण होइन, हिसाब !” भन्ने मूल नाराका साथ नगरको इतिहासमै पहिलो पटक यस्तो स्वतन्त्र निगरानी टोलीको अवधारणा ल्याइएको हो । स्थानीय तहमा हुने बजेटको अपारदर्शी खर्च, अलपत्र परेका पूर्वाधार, खानेपानी समस्या र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै तथ्यांकमा आधारित सुशासन प्रवर्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको रास्वपा चाँगुनारायण नगर सभापति रोशन थापाले जानकारी गराए । नगर समितिले सार्वजनिक गरेको योजना अनुसार यस ‘हिसाब–किताब चाँगु’ अभियानले मुख्य चार क्षेत्रमा केन्द्रित रहेर कार्य गर्नेछः नगरपालिका तथा वडा तहमा विनियोजन हुने बजेट कहाँ, कसरी र कुन गुणस्तरमा खर्च भइरहेको छ भन्ने विषयको वैज्ञानिक लेखाजोखा गरिने छ भने अपारदर्शी टेन्डर, नीतिगत भ्रष्टाचार तथा अलपत्र परेका विकास योजनाहरूको तथ्य र डेटा सार्वजनिक गरिनुका साथै भ्रष्टाचार वा अनियमितता भएको प्रमाण भेटिएमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतमा आधिकारिक उजुरी दर्ता गर्नेसम्मको ठोस कदम चालिनेछ । यस्तै, केवल विरोधमा मात्र सीमित नभई चाँगुनारायणको दिगो विकासका लागि विभिन्न क्षेत्रका विशेषज्ञहरू मिलेर आगामी ५ वर्षको स्पष्ट गुरुयोजना पनि तयार पारिनेछ । यस अभियानमा इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, सूचना प्रविधि विज्ञ, वकिल, पत्रकार तथा अध्ययनशील युवाहरूलाई समेट्ने नगर सभापति थापाले जानकारी दिए । नगर सभापति थापाले चाँगुको समग्र विकास र सुशासनमा योगदान पुर्‍याउन चाहने इच्छुक नागरिक तथा युवाहरूलाई आवेदन फाराममार्फत अभियानमा जोडिन आह्वान गरेका छन् । सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सहजै आवेदन फाराम भर्न सकिने व्यवस्था मिलाइएको उनले बताए । यस अभियानमा आबद्ध हुन पार्टी सदस्यता अनिवार्य नगरिएकाे थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञ समूहमा आवद्ध हुन सार्वजनिक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको समग्र विकास योजना निर्माण गर्ने उद्देश्यसहित विज्ञ समूहमा आवद्ध हुन सार्वजनिक आह्वान गरेको छ । समितिका सभापती रोशन थापाले जारी गरेको सूचनामा शिक्षा, स्वास्थ्य, यातायात, शहरी विकास, पूर्वाधार, कृषि, नवप्रवर्तन तथा स्टार्टअप, विज्ञान, सञ्चार तथा सूचना प्रविधि, उत्पादन, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन, वातावरण लगायत २५ क्षेत्रमा अनुभव र दक्षता हासिल गरेका व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरिएको छ । नगरको दीर्घकालीन र दिगो विकासका लागि विज्ञहरूको सुझाव तथा अनुभवलाई समेट्दै एकीकृत योजना निर्माण गर्ने लक्ष्य राखिएको समितिका सभापती थापाले जानकारी दिए । थापाका अनुसार स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार मानेर वैज्ञानिक, व्यावहारिक तथा परिणाममुखी योजना तयार गरिनेछ । यसका लागि विविध क्षेत्रका पेशागत विज्ञहरूलाई एकै प्लेटफर्ममा ल्याउने तथा युवा र अनुभवलाई एउटै ठाउँमा ल्याउने प्रयास स्वरूप यो आह्वान गरिएको हो । रास्वपाले इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरण, अनुभव र योगदान गर्न चाहेको क्षेत्र स्पष्ट खुलाएर आवेदन दिन अनुरोध पनि गरेको छ । आवेदन नगर समितिले जारी गरेको क्युआर स्क्यान गरि सहजै अनलाइनमार्फट बुझाउन सकिने नगरा सभापती थापाले जानकारी दिनुभयो । विज्ञ समूहमार्फत तयार पारिने योजना आगामी दिनमा चाँगुनारायण नगरको विकास मार्गचित्रका रूपमा उपयोग गरिने नगरा सभापती थापाको विश्वास छ । समितिले यस पहलले स्थानीय शासन प्रणालीलाई थप सुदृढ बनाउने र नागरिक सहभागितालाई प्रवद्र्धन गर्ने अपेक्षा समेत गरेको छ ।