खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ

भक्तपुर । खल्ती डिजिटल वालेटको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई झुक्याएर बैंक तथा वालेट खाताबाट रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको साइबर शाखाका अनुसार विद्युतीय माध्यमबाट भएको ठगीसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा सुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र ऋषि गंगासमेतका प्रतिवादीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफू खल्ती प्रा.लि.को कर्मचारी भएको बताउँदै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए । उनीहरूले खल्ती वालेटको केवाईसी (KYC) अद्यावधिक गर्नुपर्ने, अद्यावधिक नगरे खाता बन्द हुने, बैंक खाता वालेटमा लिंक गरिदिने, व्यवसायिक खातामा रकम प्राप्त हुँदा आवाज आउने ई–स्पिकर उपलब्ध गराउने तथा फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बनाइदिने जस्ता प्रलोभन देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसरी सम्पर्कमा आएका व्यक्तिहरूलाई झुक्याएर स्क्रिन सेयर गराउन लगाउने र खल्ती वालेट तथा मोबाइल बैंकिङको ओटीपी (OTP) कोड लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । त्यसपछि पीडितको बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्‍याई विभिन्न व्यक्तिका खातामा रकम स्थानान्तरण गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा प्रतिवादीहरूबाट बरामद भएका मोबाइल तथा सिमकार्डको परीक्षण गर्दा ठगीमा प्रयोग भएको आशंका गरिएका १८ वटा मोबाइल तथा ह्वाट्सएप नम्बर पहिचान गरेको छ ।

उक्त नम्बरहरूबाट आफूलाई खल्तीको कर्मचारी बताउँदै फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गरिएको, केवाईसी अद्यावधिक, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर मागिएको अथवा आर्थिक हानि–नोक्सानी भएको भए जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले सर्वसाधारणलाई अपरिचित व्यक्तिलाई ओटीपी, पासवर्ड तथा बैंकिङ विवरण नदिन र शंकास्पद व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन सेयर नगर्नसमेत सचेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *