चाँगुनारायणको १९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध संसदमा रुकेश रंजितको कडा आवाज, उच्चस्तरीय छानबिन र कारबाहीको माग

भक्तपुरको चाँगुनारायण नगरपालिका–१, सरस्वतीखेलस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा भूमाफियाले अतिक्रमण गरी गैरकानुनी रूपमा कित्ताकाट गरेको भन्दै प्रतिनिधि सभामा भक्तपुर क्षेत्र १ का सांसद रुकेश रंजितले सरकारको गम्भीर ध्यानाकर्षण गराइएका छन् । सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रंजितले साबिक दुवाकोट–८ ख, कित्ता नम्बर ४७ को उक्त पर्ति जग्गामा बिचौलिया र मालपोतका कर्मचारीको मिलेमत्तोमा नाङ्गो नाच चलेको भन्दै दोषीमाथि कडा कारबाही र अवैध कित्ताकाट तत्काल खारेज गर्न जोडदार माग गरेका हुन् । उनले सयौँ वर्षदेखि स्थानीय अवाल, बस्नेत र खड्का परिवारले कुलपूजा गर्दै आएको, बालबालिकाको खेल मैदान र धार्मिक आस्थाको केन्द्र बनेको थलो आज भूमाफियाको जुवाको खाल बनेको दावी पनि गरे । २०२१ सालको नापी नक्सामा स्पष्ट पर्ति जनिएको उक्त जग्गा २०४२ सालमा अवैध रूपमा निजी दर्ता गराइएको थियो । पछि स्थानीयको निरन्तर लडाइँ र विरोधपछि २०६९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयबाट पुनः पर्ति नै कायम गरिएको थियो । तर, हाल कानुनका छिद्र प्रयोग गरी सो जग्गालाई एकाएक ३२ टुक्रामा कित्ताकाट गरिएपछि परापूर्वकालदेखिको सार्वजनिक धरोहर बचाउन स्थानीय बासिन्दा आन्दोलित भएर सडकमा उत्रन बाध्य भएका छन् । अतिक्रमणको क्रममा त्यहाँ स्थापित ऐतिहासिक कालभैरव मन्दिरलाई समेत खुम्च्याएर २४४ नम्बर कित्तामा धकेलिएको र सार्वजनिक सम्पत्ति निजी बनाउँदासमेत राज्य मौन बसेको भन्दै सांसद रंजितले आपत्ति समेत जनाएका छन् । ऐतिहासिक यथार्थलाई कुल्चिएर माफियाले विजयको झण्डा गाड्दा नागरिकले राज्यको कानुनमाथि नै प्रश्न उठाएको उल्लेख गर्दै आज कालभैरवको कित्ता फेरिए भोलि इतिहासको कित्ता सर्ने उनले चेतावनी समेत दिएका छन् । सांसद रंजितलेसरस्वतीखेलको कित्ता नम्बर ४७ हडप्न निर्माण गरिएका नक्कली कागजात, अवैध कित्ताकाट र प्रशासनिक चलखेलको तत्काल उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन, अख्तियारको निर्णय र ऐतिहासिक प्रमाणलाई बेवास्ता गरी गैरकानुनी रूपमा टुक्रा पारिएका सम्पूर्ण कित्ताहरू खारेज गरी पूर्ववत रूपमा पर्ति कायम गर्न, सार्वजनिक सम्पत्ति दोहन गर्ने भूमाफिया, बिचौलिया र उनीहरूलाई सघाउने मालपोतका कर्मचारीहरूलाई कानुनी दायरामा ल्याउन तथा मन्दिर र सार्वजनिक सम्पत्ति जोगाउन सडकमा उत्रिएका स्थानीयको जायज माग तत्काल सम्बोधन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *