भक्तपुरका किसानको दुःखः धान जोगाउनै मुस्किल भयो

भक्तपुर, कात्तिक १५ गते । धान काटेर सुकाउने र भित्राउने समयमा परेको निरन्तर वर्षाका कारण भक्तपुरका किसानलाई यस वर्षको धानबाली जोगाउनै मुस्किल भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले खेतबाट काटेर घर आँगन तथा सडकमा सुकाउन राखेको धान भिजेपछि किसान चिन्तित भएका छन् ।
भक्तपुरकी किसान बुद्धलक्ष्मी सुवालले बल्लतल्ल खेतबाट काटेर घरआँगनसम्म ल्याएको धान वर्षाले भिजाउँदा जोगाउन समस्या भएको बताउनुभयो । घरमा धान सुकाउन पर्याप्त ठाउँ नभएपछि सडकमा सुकाउन राखेको धान रातभर र दिनभर परेको पानीले भिजाएको उहाँले बताउनुभयो ।
“माना रोपेर मुरी फलाउने भन्छन्, तर अहिले मुरी त के माना धानसमेत जोगाउन मुस्किल भएको छ । दुःख गरेर खेतबाट काटी घरसम्म ल्याएको धान खान पाउने हो कि होइन भन्ने चिन्ता लागेको छ”, उहाँले भन्नुभयो ।
धान सुकाउन राखेको ठाउँमै पानी जम्ने र लगातार भिजिरहने अवस्थाले थप समस्या भएको उहाँले सुनाउनुभयो । “घरमा सुकाउने ठाउँ छैन, त्यसैले बाटोमा सुकाउन राखेकी थिएँ । रातभर र दिनभर परेको पानीले धान भिजेको देख्दा मन पनि रोइरहेको छ”, उहाँले भन्नुभयो ।
अझै केही दिन वर्षा भइरहे धानमा थप क्षति पुग्ने र वर्षभरिको खान्कीका लागि दुःख गरेर उत्पादन गरेको अन्न नै बिग्रने चिन्ता उहाँले व्यक्त गर्नुभयो । त्यस्तै अर्की किसान पार्वती खाइतुले पनि सडकमा सुकाउन राखेको धानलाई त्रिपाल, प्लास्टिक र परालले छोपेर राख्नुपरेको बताउनुभयो । मौसम पूर्वानुमानमा वर्षा हुने समाचार सुनेपछि धान भिज्न नदिन हरियो अवस्थामै काटेर सुकाउन राखेको उहाँले बताउनुभयो ।
धान पाक्ने र काट्ने समय भए पनि वर्षाको सम्भावनाका कारण किसानलाई कहिले काट्ने र कसरी भित्राउने भन्ने समस्या परेको उहाँको भनाइ छ । काटेर सुकाउन राखेको धानसमेत पानीले भिजेपछि त्यसलाई सुरक्षित राख्न थप मेहनत गर्नुपरेको उहाँले बताउनुभयो ।
भक्तपुरका किसानका लागि धान काट्ने, सुकाउने र भित्राउने समय निकै व्यस्त हुने गर्दछ । खेतबाट धान काटेर ल्याएपछि घरको आँगन, छत तथा सडकमा सुकाउने यहाँको परम्परा छ । तर, पछिल्लो समय परेको निरन्तरको वर्षाले किसानको मेहनत खेर जाने चिन्ता बढाएको छ ।
वर्षभरि परिवारको खान्कीका रूपमा प्रयोग हुने धान भिजेर बिग्रने मात्र नभई राम्रोसँग सुकाउन नपाउँदा भण्डारणमा समेत समस्या हुने किसानको चिन्ता छ । वर्षा नरोकिए यस वर्ष भित्राउन लागेको धानमा थप क्षति पुग्ने उनीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *