भक्तपुर । नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा आएको संसदीय समितिका सदस्यहरुबीच शुक्रबार नगरपालिकाको सभाकक्षमा छलफल कार्यक्रम सम्पन्न भयो ।
बैठकमा सांसद सुवालले भक्तपुरको हस्तकलामा आधारित परम्परागत सीपलाई व्यावसायिक रुपमा दिन स्थापना भएको भक्तपुर साना उद्योग क्षेत्रमा हाल ध्वनी, धुँवा र रसायन प्रदूषण फाल्ने उद्योगहरु सञ्चालन गरिएको र त्यसबाट स्थानीय जनताको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको र उद्योग क्षेत्रभित्र जालसाजी भएको जनताको गुनासो रहेको बताउनुभयो ।
भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्नेतर्फ आवश्यक पहलको निम्ति अनुरोध गर्नुहुँदै सांसद सुवालले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेश भएको उजुरीबारे आवश्यक सुनुवाई हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य र वर्तमान अवस्थाबारे अवगत गराउनुहुँदै औद्योगिक क्षेत्र वरपर भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, शैक्षिक संस्थाहरु, अस्पताल तथा भक्तपुर दरबार क्षेत्र जोडिएको हुँदा सरकारको प्रतिबद्धताअनुरुप भक्तपुर औद्योगिक क्षेत्रबाट यथाशक्य चाँडो धुवा, ध्वनी र रसायन प्रदुषण फाल्ने उद्योगहरु स्थानान्तरण गर्नुपर्न माग गर्नु भयो ।
उहाँले कतिपय ठूला उद्योगहरुले नगरपालिकालाई तिर्नु पर्ने कर समेत नतिरी जथाभावी जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य गरिरहेको अवगत गराउनु भयो ।
बैठकमा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले स्थलगत अध्ययन समितिबाट प्राप्त प्रतिवेदनको आधारमा नेपाल सरकारलाई आवश्यक निर्देशन दिनुका साथै सम्बन्धित सबै निकायहरुमा घच्घच्याउने काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थित तरिकाबाट सञ्चालन भइरहेको छैन, उद्योग क्षेत्रभित्र सरसफाइ पनि छैन भन्दै सांसद श्रीवास्तवले भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय प्रशासन र स्थानीय पीडित जनताको संयुक्त प्रयासबाट औद्योगिक क्षेत्र स्थानान्तरणको लागि आवश्यक पहलको आवश्यकता औंल्याउनुभयो ।
समितिका सांसद भीमसेनदास प्रधानले मानव बस्तीलाई हानी हुने गरी प्रदूषण फाल्ने उद्योग सञ्चालन गर्न नपाउने उल्लेख गर्नुहुँदै नेपाल सरकारको निर्णयअनुरुप काठमाडौं उपत्यकाबाट प्रदूषण फाल्ने उद्योगहरु स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।
सोही समितिका सांसद एवम् अध्ययन समितिका संयोजक देवेन्द्र पौडेलले भक्तपुरको पहिचान र गौरव गर्न लायक संस्कृति बचाइराख्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै भक्तपुरको कला, संस्कृति र सम्पदाहरु बचाइराख्न र स्थानीय पीडित जनताको गुनासो सम्बोधन गर्न समिति प्रतिबद्ध रहेको बताउनुभयो ।
बैठकमा समितिका सांसद सुजाता परियारले भक्तपुर औद्योगिक क्षेत्रभित्रका उद्योगहरुको स्थलगत भ्रमण गरी यहाँको वास्तविक समस्या बुझ्ने अवसर पाएको बताउनुहुँदै पीडित जनताको गुनासो छिटोभन्दा छिटो समाधान हुनेछ भन्नुभयो ।
सांसद प्रमोद शाहले मानव बस्तीबीच सञ्चालित उद्योगहरुले मानव स्वास्थ्यमा परिरहेको असर र समस्या निकै संवेदनशील भएको बताउनुहुँदै उद्योग राज्यमन्त्री, उद्योग व्यवस्थापन कार्यालयलगायतबाट निरीक्षण भइसक्दा पनि समस्याको सुनुवाई नहुनु दुखद् पक्ष भएको औंल्याउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले समितिका सभापति श्रीवास्तवलाईलाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ मायाको चिनोको रुपमा प्रदान गर्नुभयो भने उपस्थित सबै सांसदहरुलाई भक्तपुर नगरपालिकाका प्रकाशनहरु र नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ उपहारस्वरुप प्रदान गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, कार्यपालिका सदस्य र पीडित जनताहरुको पनि उपस्थिति रहेको सो बैठकमा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।








