दत्तात्रयमा पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण

भक्तपुरमा विश्व पक्षघात दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन
भक्तपुर । उपेन्द्र देवकोटा फाउन्डेसनको आयोजनामा विश्व पक्षघात दिवसको अवसरमा आज भक्तपुरको दत्तात्रयमा पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण आयोजना भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नु महत्त्वपूर्ण रहेको बताउँदै भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ सेवामार्फत रक्तचाप, थाइरोइड तथा मधुमेह जस्ता नसर्ने रोगको परीक्षण गर्दै आएको उल्लेख गर्दै उहाँले यस्ता रोगबाट बच्न नियमित स्वास्थ्य परीक्षण र जनचेतना आवश्यक रहेको बताउनुभयो।
रोग लागिसकेपछि धनसम्पत्तिको अर्थ नहुने बताउँदै उहाँले स्वस्थ रहन सके जीवनमा धेरै काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो। स्ट्रोकजस्ता गम्भीर स्वास्थ्य समस्यामा समयमै लक्षण पहिचान गरी अस्पताल पुर्‍याउनु महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो। आधुनिक प्रविधिको विकाससँगै स्वास्थ्य उपचार सहज हुँदै गएको उल्लेख गर्दै स्ट्रोकको शङ्का लागेमा ढिलाइ नगरी अस्पताल पुग्न उहाँले आग्रह गर्नुभयो।
भक्तपुर नगरपालिकाले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ख्वप अस्पताल सञ्चालन गरेको बताउँदै उहाँले ख्वप अस्पतालमा सीटी स्क्यान सेवा उपलब्ध रहेको र आगामी दिनमा एमआरआई मेसिन खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुरमा स्ट्रोकसम्बन्धी जानकारीमूलक कार्यक्रम आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो। निःशुल्क स्वास्थ्य परीक्षणमार्फत सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गर्न सहज हुने बताउँदै उहाँले कुनै स्वास्थ्य समस्या नदेखिए पनि आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी राख्न यस्ता शिविरमा सहभागी भई नियमित स्वास्थ्य परीक्षण गराउन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा उपेन्द्र देवकोटा फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले फाउन्डेसनले प्रत्येक वर्ष विश्व स्ट्रोक दिवस मनाउँदै आएको बताउनुभयो। भक्तपुरमा कार्यक्रम आयोजना गर्न सहज वातावरण र सहयोग प्राप्त भएको उल्लेख गर्दै उहाँले यसका लागि धन्यवाद व्यक्त गर्नुभयो।
स्ट्रोक उमेर ढल्केका व्यक्तिलाई मात्र नभई युवाअवस्थामा पनि हुन सक्ने बताउँदै उहाँले ६ वर्षको बालबालिकामा समेत स्ट्रोक भएको उदाहरण रहेको उल्लेख गर्दै उहाँले यससम्बन्धी जनचेतना सबै उमेर समूहका व्यक्तिका लागि आवश्यक रहेको बताउनुभयो।
स्ट्रोकका लक्षण समयमै पहिचान गरी बिरामीलाई तत्काल अस्पताल पुर्‍याउन सके धेरैको ज्यान बचाउन सकिने उहाँले बताउनुभयो। यस्ता जनचेतनामूलक कार्यक्रमले स्ट्रोकबारे सही जानकारी फैलाउन, समयमै उपचार खोज्ने बानी विकास गर्न तथा सम्भावित जोखिम कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालले स्ट्रोकसम्बन्धी जनचेतना फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै स्ट्रोक जुनसुकै व्यक्तिलाई पनि हुन सक्ने भएकाले यसबारे आम नागरिकलाई जानकारी दिनु र समयमै सचेत गराउनु महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै न्युरोलोजी विभागका विभागीय प्रमुख डा. एञ्जिल महर्जनले स्ट्रोकसम्बन्धी जानकारी आम जनमानससम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
स्ट्रोक मस्तिष्कमा रक्तप्रवाह अवरुद्ध हुँदा वा मस्तिष्कको रक्तनली फुटेर रक्तस्राव हुँदा हुने गम्भीर अवस्था भएको उल्लेख गर्दै उहाँले यसको लक्षण देखिनेबित्तिकै बिरामीलाई अस्पताल पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। समयमै उपचार सुरु गर्न सकेमा स्ट्रोकबाट हुने जोखिम र जटिलता कम गर्न सकिने उहाँले बताउनुभयो।
स्ट्रोकको शङ्का लागेमा बिरामीको अवस्थाअनुसार तत्काल सीटी स्क्यान वा एमआरआईजस्ता परीक्षण गरी रोगको प्रकृति पहिचान गर्नुपर्ने उहाँले जानकारी दिनुभयो। स्ट्रोकका बिरामीलाई जतिसक्दो छिटो अस्पताल पुर्‍याउनु महत्त्वपूर्ण हुने बताउँदै उहाँले लक्षण देखिएको सुरुवाती घण्टाहरू उपचारका दृष्टिले विशेष महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
कार्यक्रमअन्तर्गत आज बिहान १० बजेदेखि भक्तपुरको दत्तात्रयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुनेछ। विश्व स्ट्रोक दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रबाट जनचेतनामूलक ¥याली निकालिएको थियो। ¥याली खौमा, इताछेँ, तेखापुखु, वंशगोपाल, तालाक्व, सुकुलढोका, गोल्मढी, इनाचो हुँदै दत्तात्रयमा पुगेर सम्पन्न भएको थियो। ¥यालीमा स्ट्रोकसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समयमै लक्षण पहिचान गरी उपचार गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *