भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपाभित्रका महत्वपूर्ण सम्पदाहरुको अवलोकन भ्रमणमा आउनुभएका सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानको नेतृत्वको प्रतिनिधिमण्डल टोलीले शुक्रबार भेट ग¥यो । सोही अवसरमा नगरपालिकाका जनप्रतिनिधि र सो टोलीबीच नगरको शिक्षा, स्वास्थ्य, विकास निर्माण, सम्पदा संरक्षणलगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम पनि भयो ।
भक्तपुरका सार्वजनिक सम्पत्तिहरु व्यक्तिले हडपेका थुप्रै उदाहरणहरु प्रस्तुत गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
भक्तपुर नपाले विदेशी सहयोगविना नै सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइरहेको बताउनुहुँदै उहाँले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माण र भक्तपुरको विकास निर्माणका काममा नगरबासीहरुको निरन्तर साथ र सहयोग पाइरहेको उहाँले बताउनुभयो । भक्तपुरको सांस्कृतिक सम्पदा, मौलिक सीप, स्थानीय खेलहरु आदि संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यसहित नपा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
सोही क्रममा सम्पदा संरक्षण परिषद् नेपालका अध्यक्ष भागवत नरसिंह प्रधानले भक्तपुरका मूर्त अमूर्त सम्पदाहरुको स्थलगत अवलोकन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुहुँदै भक्तपुरमा सम्पदा संरक्षण कार्यहरु निकै सराहनीय ढंगले भइरहेको भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नेपालकै पहिचान संरक्षण गर्ने ढंगले काम गरिरहेको र सम्पदा संरक्षण गर्ने अभियानमा भक्तपुर नपा अग्रस्थानमा रहेको चर्चा गर्नुहुँदै अध्यक्ष प्रधानले काठमाडौंको ठमेलस्थित पुरातात्विक कमलपोखरी संरक्षण र पुनःस्थापना अभियानमा भक्तपुरका जनताको निरन्तर साथ र सहयोग पाइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।
स्वागत मन्तव्य राख्नुहुँदै भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै ख्वप अस्पतालको निर्माण भइरहेको बताउनुहुँदै काठमाडौंको थःबहीमा अवस्थित पले स्वाँ पुखु संरक्षणको निम्ति सम्पदा संरक्षण परिषद्ले गरिरहेको संघर्षप्रति ऐक्यबद्धता जनाउनुभयो ।
नगर प्रमुख प्रजापतिले उहाँहरुलाई नपाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन सम्पदाहरुको विवरण समेटिएको ‘फोटो पुस्तक’ र नपाका केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्रतिनिधिमण्डल टोलीलाई भक्तपुरको भादगाउँले टोपी र थैली दिई स्वागत गर्नुभयो । सोही क्रममा अध्यक्ष भागवत नरसिंह प्रधानले पनि प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गर्नुभयो ।
सो टोलीलाई पर्यटन सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको सिद्धपोखरी, भाजु पोखरी, नःपुखु, भक्तपुर दरबार क्षेत्र, तलेज परिसर, वत्सला मन्दिर, टौमढी, दत्तात्रय स्क्वायर, जनस्वास्थ्य सेवा केन्द्रलगायतका सम्पदाहरुको स्थलगत अवलोकन गराउनुभएको थियो ।










