देशभर ‘खाद्यान्नका लागि रोजगार’ कार्यक्रम अन्तर्गत ज्याला दिई मजदुरीको काम भइरहेको बेला भक्तपुरमा भने निःशुल्क जनश्रमदान गरी प्रसिद्ध पाँंचतल्ले मन्दिरको जिर्णाद्धार कार्य भएको छ । स्थानीय निकाय अन्तर्गतका नगरपालिकाहरुले लकडाउनका कारण समस्यामा परेका आफना नगरबासीहरुलाई सहयोग गर्न कार्यक्रममार्फत दैनिक ज्याला दिई काम भइरहेको बेला भक्तपुर नगरबासीले भने जनश्रमदानमार्फत मन्दिरको पुननिर्माण गरिरहेका हुन् । मन्दिर पुननिर्माणका लागि पानीका भरमा उनीहरु जनश्रमदानमा जुटिरहेका हुन् । दैनिक खाजासमेत आआफनै घरबाट बोकेर ल्याई खाएर उनीहरु मन्दिर जिर्णाेद्धारको जनश्रमदानमा जुटेका हुन् ।
ङालापोल (पाँंचतल्ले) मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले आफनो क्षेत्रको विकासमा आफैं जनश्रमदान गरी बनाउने पहिलेदेखिको परम्परा अनुसार दैनिक फरकफरक नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरु आई मन्दिरको जनश्रमदान जुट्दै आएको जनाए । लकडाउनकावीचमा पनि जनश्रमदानका लागि दैनिक दुई दर्जनको हाराहारीमा महिला तथा पुरुषहरु आउने गरेको उनले सुनाए । आफनो ठाउँंको विकास आफैंले गर्नुपर्छ भन्ने मान्यताका साथ जीर्णाेद्धार समितिले जनश्रमदानका लागि नगरबासीहरुमा अनुरोध गरेको र त्यही अनुसार जनश्रमदानबाट काम भइरहेको उनले खुलाए । दैनिक एक दर्जनको संख्यामा दक्ष जनशक्ति भने ज्यालामा काम गरिरहेको उनले सुनाए ।
मन्दिर जिर्णाेद्धारका काम लकडाउनसँंगै चैत १० गतेबाट बन्द भएको थियो । तर पछिल्लो दिन लकडाउनकावीच पनि मन्दिर जिर्णाेद्धारको काम पुनः सुरु गरिएको थियो । अहिले दैनिक दुई दर्जन महिलाहरु मन्दिर जिर्णाेद्धारमा खटिएको जनाइएको छ । साथै आवश्यक पर्ने बेलामा आह्वान गर्दा पुरुषहरु पनि उतिकै जनश्रमदानका लागि आउने गरेको जनाइएको छ ।
पछिल्लो एक हप्ताकोवीचमा दैनिक दुई दर्जन महिलाको हिसावले झण्डै एक सय ५० महिला र दुुई दिन पुरुषहरु बोलाउँदा पहिलो दिन ३३ र दोश्रो दिन ३७ जना पुरुषहरु जनश्रमदानका लागि आएको समितिले जनाएको छ । समितिले आवश्यक परेको बेला आवश्यकता अनुसार जनश्रमदानका लागि नगरबासीहरुलाई अनुरोध गर्ने गर्दछ । कहिले कुन र कहिले कुन वडाका नगरबासीहरु समूहसमूहमा जनश्रमदानका लागि आउने गरेको जनाइएको छ ।
जिर्णाेद्धार कार्य अन्तर्गत अहिले मन्दिरमा झिंगटीबाट छाना छाउने काम भइरहेको छ । यसका लागि माटो मुछ्न पुरुषहरु र माटो ओसार्न महिलाहरु जनश्रमदानमा जुट्ने गरेका छन् । अहिले पाँंचतल्ले मन्दिरको दोश्रौ तल्लामा झिंगटी छाउने काम अन्तिम चरण्मा पुगेको छ । पाँंचतल्लासम्म झिंगटी छाउने काम सम्पन्न भएसँंगै जिर्णाेद्धारको काम सम्पन्न हुन्छ । जिर्णाेद्धारको काम यही चालू आर्थिक वर्षभित्रै सम्पन्न गराउने योजना राखिएको छ । २०७२ सालको महाभूकम्पले माथिल्लो तल्लाहरुमा क्षति पुयाएको मन्दिरको जिर्णाेद्धार काय २०७६ साल कार्तिक २१ गते केशव तमखूको अध्यक्षतामा ङालापोल मन्दिर जीर्णोद्धार उपभोक्ता समिति गठन गरी काम सुरु भएको थियो ।
मन्दिर जीर्णोद्धारको अनुमानित लागत रु. ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँं २७ पैसा रहेको छ । स्थानीय जनता, विभिन्न संघसंस्था र पर्यटकहरुलगायत चन्दादाताहरुबाट स्वेच्छाले चन्दा, दान दातब्य दिन चाहेमा संकलन गर्न भक्तपुर नगरपालिकाका लेखा प्रमुख रामसुन्दर सुजखु र ङातापोल मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष तमखुको संयुक्त हस्ताक्षरमा नेपाल बैंक कमलविनायक शाखा कार्यालयमा खाता सञ्चालन गरिएको छ । खातामा हालसम्म एक लाख ८० हजार सहयोग रकम संकलन भएको समितिले जनाएको छ । मन्दिर जीर्णोद्धारको क्रममा स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान दातव्य दिन चाहने तथा श्रमदान समेत गर्न चाहने व्यक्ति, संघ–संस्था, गुठी, टीम, क्लबलाई सहयोग आह्वानको लागि सार्वजनिक सूचना प्रकाशन गरी आह्वान गरेको थियो ।










