जो जुन वर्गको प्रतिनिधित्व गरी आउँछन् तिनैको सेवा र हितमा लाग्ने

भक्तपुर, ५ असोज
वागीश्वरी माध्यमिक विद्यालय कानून समूह कक्षा ११÷१२ को आयोजनामा संविधान दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जो जुन वर्गको प्रतिनिधित्व गरी आउँछन् तिनैको सेवा र हितमा लाग्ने भएकाले संविधान सभाको सदस्य भई काम गर्दा वहुसंख्यक जनताको हक र हितमा संविधानमा उल्लेख गराउन निक्कै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो । उहाँले आफ्नो ज्ञान देश र समाजको लागि सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै कानुनका विद्यार्थीहरु देशकै प्रतिष्ठित व्यक्ति बन्न ऐन, कानुन र नजिरहरु निरन्तर अध्ययन गर्नुपर्ने औंल्याउनुभयो । उहाँले हालको संविधानको पनि सकारात्मक र नकारात्मक पक्ष हुने स्पष्ट पार्दै विचार र सिद्धान्तमा आबद्ध व्यक्ति कहिल्यै विचलित हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको हितमा काम गर्ने सरकारले संविधानमा व्यक्तित्व विकासमा समान अवसर, रोजगारीको सुनिश्चितता, जनसंख्याको अनुपातमा किसान र मजदुरको समानुपातिक प्रतिनिधित्व, उत्पादनका साधनहरु सबै राज्यकै हुनुपर्नेलगायतका कुराहरु अटाउने थियो । उहाँले समय र जनताको आवश्यकता र चाहना अनुसार परिवर्तन गर्न नसक्ने संविधान खारेज हुने बताउँदै दिगो संविधान र आदर्श समाज निर्माणका लागि राम्रो राजनीतिक पार्टीको विकल्प नभएको स्पष्ट पार्नुभयो । बारम्बार माफी माग्नुपर्ने गरी गल्ती गर्न नहुने बताउँदै उहाँले ठूलो पदमा बस्नेले काम गर्दा विज्ञ र सल्लाहकारसँग राय सुझाव लिएर मात्र बोल्नुपर्ने बताउनुभयो । गहन र नियमित अध्ययनले मान्छेलाई पूर्ण बनाउने बताउँदै बहुसंख्यक जनताको पक्षमा आपूmलाई क्रियाशिल बनाउनुपर्नेमा उहाँको जोड छ ।
कानुन अध्ययन समाज नेपालका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिले सरकारले विदेशी एजेन्ट र सीमित मान्छेको पक्षमा संविधानलाई संशोधन गर्न खोजेको औल्याउनुभयो । न्यायालयमा न्यायाधिस कम दलाल बढी भएको बताउँदै व्यापक जनताको हितमा काम गर्न चिन्तन गर्नुपर्ने बताउनुभयो । उहाँले कानुन कसको हितमा बनाउने भन्ने चिन्तन गर्नुपर्ने बताउँदै संविधानमा मौलिक हकभित्र किसान र मजदुरको हकलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
वागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले पंचायती व्यवस्थाको संविधान र अहिलेको संविधानबीच भएको परिवर्तनबारे चर्चा गर्दै संविधानमा व्यापक जनताको पक्षमा अझै पूर्णता नपाएको औंल्याउनुभयो । सरकारले ल्याएको शिक्षा नियमावलीको १०आौं संशोधनले पनि संविधानबाट प्रत्याभूत अधिकार दिन नसकेको स्पष्ट पार्नुभयो । उच्च तहसम्म निःशुल्क र कक्षा १२ सम्म अनिवार्य शिक्षा दिनुपर्ने सरकारले स्वतन्त्रताको नाउँमा छाडापन ल्याउने नीति बनाएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा भएको बताउँदै आजका युवा २१औं शताब्दीका सचेत नागरिक हुनुपर्ने आौंल्याउनुभयो । देशको नेतृत्वको जिम्मा लिने भविष्यका कर्णधार विद्यार्थीहरुले हरेक कानुनी कुराहरुको गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । सुजनशील र ऊर्जाशक्ति नै सम्पत्ति भएको बताउँदै बौद्धिक सम्पत्ति आर्जनमा विशेष जोड दिनुभयो । साथै उहाँले वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्टका शिक्षक, कर्मचारी र विद्यार्थीहरुबाट रसुवाको बाढी प्रभावितका लागि ११ लाख सहयोग जम्मा भैसकेको बताउनुभयो ।
कानुन शिक्षक राजन लाखा, कक्षा १२ का कानुन समूहका विद्यार्थीहरु सजिना वि.क., उमेश रोकाय, निशा पाण्डे, कक्षा ११ का बन्दना शाहीलगायतले नेपालको संविधान २०७२ को कार्यान्वयनका पक्षमा चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *