भक्तपुर, असोज । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौंका प्राज्ञ परिषद् सदस्य एवं नाट्य विभाग प्रमुख जीतबहादुर देउजा ‘विजय विस्फोट’ले आफू भक्तपुरवासी भएकाले भक्तपुरको संगीत तथा नाटक क्षेत्रको विकासमा केही योगदान गर्न चाहेको बताएका छन्।
प्रतिष्ठानमा मंगलबार भक्तपुरका पत्रकारहरूसँग भएको भेटघाटका क्रममा देउजाले भक्तपुरको कला, संस्कृति, संगीत तथा नाटक क्षेत्रको विकासका लागि आफूले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए। उनले भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा कलाको दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यहाँको मौलिक कला र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तालाई संगीत तथा नाट्य क्षेत्रमा आकर्षित गर्नुपर्नेमा जोड दिए।
भक्तपुरमा प्रतिभावान कलाकार तथा स्रष्टाहरू भए पनि उनीहरूलाई आवश्यक अवसर र मञ्च उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। स्थानीय कलाकारको क्षमता पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरमा स्थापित गराउन सहकार्य र प्रोत्साहन आवश्यक रहेको उनले बताए।
देउजाले भक्तपुरको मौलिक संस्कृति, जात्रा, परम्परा र स्थानीय जीवनशैलीलाई नाटक तथा संगीतका माध्यमबाट प्रस्तुत गर्न सकिने उल्लेख गर्दै यसबाट भक्तपुरको सांस्कृतिक पहिचानलाई थप उजागर गर्न सहयोग पुग्ने बताए। उनले प्रतिष्ठान र भक्तपुरका कलाकार, सांस्कृतिक संस्था तथा सञ्चारकर्मीबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउँदै आगामी दिनमा भक्तपुरमा संगीत तथा नाट्य क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटमा भक्तपुरका पत्रकारहरूले जिल्लाको संगीत, नाटक तथा सांस्कृतिक क्षेत्रमा देखिएका सम्भावना र चुनौतीका विषयमा धारणा राखेका थिए।










Leave a Reply