भक्तपुर । गत शुक्रबार दिउँसो घाम चर्किरहेको थियो। आफूसँगै बस्ने गाउँकै एकजना दिदीसँग उनी रत्नपार्क आएकी थिइन्।
एउटा गार्मेन्ट कारखानामा काम गर्ने उनीहरू डेरा फर्किनका लागि बस पर्खिरहेका थिए। चर्को घाम, दुवैलाई प्यास लागेको थियो। दिदीले भनिन्, ‘कस्तो चर्को घाम लागेको म पानी किनेर ल्याउँछु है, तिमी यहीँ बस।’
यति भनेर ‘दिदी’ चाहीँ पानी किन्न गइन्। उनी धेरैबेर कुरेर बसिन् तर पनि दिदी आइनन्। यताउता हेरिन्। कतै देखिनन्। त्यतिकैमा एक युवक फिल्मी शैलीमा उनको सामुन्ने आए र, भने, ‘कस्तो घाम है, पानी खाने हो?’
उनलाई पनि कम्ति प्यास लागेको थिएन। नचिनेको मान्छे भए पनि ‘पानी त हो के हुन्छ र!’ सोच्दै एक घुट्को पानी पिइन्।
त्यसपछि ती युवकले ‘गाडीमा जाने हो?’ भनेर सोधे, उनले ‘हो!’ भनिन्।
पानी किन्न गएकी दिदीलाई धेरैबेर नदेखेपछि उनी त्यही युवकले भनेको गाडीमा चढिन्।
रत्नपार्कबाट गाडी चढेको याद छ उनलाई, गाडीमा चढिसकेपछि फेरि ती युवकले ‘पानी खाउ बहिनी’ भने।
उनले फेरि पानी खाइन्। त्यसपछि सायद उनी निदाइन्। अर्थात्, बेहोस् भइन्। उनलाई केही याद छैन, कसरी भक्तपुर पुगिन् भन्ने ।
…
गाडीमा चढिसकेपछि के के भयो?
ती अपरिचिति युवक (दिपेश राई) ले पानीमा केही लठ्याउने औषधी मिसाएर खुवाए र किशोरीलाई भक्तपुर सूर्यविनायक पु¥याए। दिपेशले रत्नपार्कबाट भक्तपुर आउने लोकल गाडीमा ल्याएका थिए।
उनलाई सूर्यविनायकको एउटा सुनसान ठाउँमा राखिएको नम्बर प्लेट नभएको गाडीभित्र लगेर रातभरि बेहोस अवस्थामा बलात्कार गरेका थिए, दिपेशले।
बिहान ७ बजेतिर दिपेशले उनका साथीहरू निरकुमार खड्का र सूर्य श्रेष्ठलाई फोन गरेर ‘एकजना माल छ, चाहिन्छ?’ भनेर सोधेका थिए।
‘साथीले फोन गररे माल छ, भनेपछि हामीले पनि हुन्छ भन्यौं,’ असोज १६ गते भक्तपुरमा लोकल गाडीभित्र किशोरी बलात्कारमा संलग्न अभियुक्तले प्रहरीलाई बयानका क्रममा यस्तो भनेका थिए।
…
त्यसपछि बा. ३ ख २६१२ नम्बरको गाडी दिपेशले बलात्कार गरेको ठाउँमा लगियो। यो गाडी सधै सूर्यविनायकस्थित वाणिज्य बैक अगाडि पार्क गर्ने गर्थे।
असोज १६ गते शुक्रबार रातभरि दिपेशले बलात्कार गरेपछि बेहोस भएकी ती किशोरीलाई भोलिपल्ट शनिबार बिहान करिब ९ बजेतिर अर्काे नम्बर नखुलेको गाडीमा राखेर ल्याइएको थियो।
अर्को गाडीमा बलात्कृत किशोरीलाई सारिसकेपछि गाडीको सबै झ्याल, ढोका, पर्दा लगाइएको थियो। किशोरीलाई दुईजनाले समाएर गाडीभित्र लगेका थिए।
दिउँंसो करिब ११(१२ बजेतिर किशोरी पूरै होसमा आइन्। होसमा आएको बेला गाडीको अन्तिमा सिटमा थिइन् उनी।
बिस्तारै आँखा खोलेर हेर्दा गाडीका सबै पर्दा लगाइएको थियो। बिस्तारै उठेर पर्दा खोलेर गाडीको ऐनाबाट हेर्दा उनले खोलामात्र देखिन्। सुनसान ठाउँ थियो। कुनै गाडी र मान्छेको छाया पनि थिएन।
कुन ठाउँमा छु, कहाँ छु केही थाहा थिएन उनलाई। उनले कसैसँग गुहार माग्छु भनेर सोचेकी थिइन्। तर, बाहिरको वातावरण देख्दा उनी एकदम निराश भइन्।
त्यही बेला अगाडिको ड्राइभर बस्ने ठाउँमा दुईजना पुरुष बसेको देखिन्।
केही बोल्न नपाउँदै ती केटाहरू उनी बसेको ठाउँमा आए। ती दुवैले उनलाई कसेर समाए।
उनले ‘के गर्न लाग्नुभएको? छोडिदिनुस् दाइ’ भनेर अनुनय गरिन् तर केही सीप लागेन। रोइकराइ गरिन्। उनीहरूले किशोरीलाई होसमा रहँंदा पनि पालैपालो बलात्कार गरे।
यसरी दुई(दुई घन्टाको फरकमा उनीहरुले दुई(दुईचोटि बलात्कार गरे।
त्यसअघिको रातभरि उनलाई कतिपटक बलात्कार गरे, उलाई केही थाहा छैन। तर, ती दुईजनाले भने उनी होसमा हुँदा नै दिनभरि बलात्कार गरेका थिए।
…
उनी कस्ती अभागी!
‘रातभरि कसले बलात्कार गर्यो थाहा छैन। दिनभरि होसमै हुँदा पनि बलात्कार गरे,’ किशोरीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले आयोमेलसँग भने, ‘के म बलात्कृत हुनको लागि नै जन्मेकी रहेछु त?’
केही महिनाअघि मात्र उनी आफ्नै दाजुबाट बलात्कृत भएकी थिइन्। उनले प्रहरीमा उजुरी गरेपछि दाजु प्रहरी फन्दामा परेका थिए।
त्यही कारण उनलाई आमाले ‘मेरो छोरालाई जेल पठाउने छोरी चाहिँदैन, तँ मेरो छोरी होइनस्’ भन्दै घरबाट निकालिदिइन्।
आमाले मात्र नभई उनलाई आफ्नै दिदीले पनि साथ छाडिन्। बुबा विदेशमा छन्। उनले पढेलेखेकी छैनन्। केही समय भौंतारिएर हिँडेकी पनि थिइन्।
त्यसपछि उनलाई गाउँकै चिन्ने दिदीकहाँ बस्ने र गार्मेन्टमा काम गर्न सिन्धुपाल्चोकबाट काठमाडौं पठाइदिए।
काठमाडौं आएर उनी छिमेकी दिदीसँगै बसेकी थिइन्, दुःख र आँशु लुकाएर।
र, फेरि उनी ‘नरपिचास’ को फन्दामा परिन्, बलात्कृत भइन्।
…
शनिबार दिनभरि भक्तपुर लिवालीस्थित तबयाखुसीमा बलात्कार गरेपछि बलात्कारीहरूले साँझतिर फेरि त्यो गाडी त्यही सूर्यविनायकस्थित वाणिज्य बैक अगाडि नै पार्क गर्न लगेका थिए।
त्यतिबेला ती किशोरी पूरै अचेत अवस्थामा थिइन्। उनले प्रतिकार गर्न वा बोल्न सक्ने अवस्था गुमाइसकेकी थिइन्।
किनकि, उनलाई शुक्रबार दिउँसो ३(४ बजेदेखि शनिबार रातिसम्म निरन्तर बलात्कार गरिएको थियो। त्यो बीचमा उनले केही खाएकी पनि थिइनन्। उनलाई २४ घन्टा बलात्कारमात्र गरियो, पालैपालो।
…
बलात्कारपछि भट्टी जाँदा खुल्यो पोल
शनिबार साँंझ ती किशोरीलाई गाडीभित्रै थुनेर दुई अभियुक्त भट्टीमा मदिरा सेवन गर्न गए।
मदिराकै सुरमा उनीहरूको अर्का व्यक्तिसँग झगडा भयो।
तिनले सूर्यविनायकमा रहेका एक प्रहरीलाई ‘गाडीभित्र केटी छ, त्यो गाडीमा नराम्रो भएको हुनुपर्छ’ भनिदिए।
त्यसपछि प्रहरीले गाडी नजिक गएर भित्र हेर्दा ती किशोरी पछाडिको सिटमा अचेत भएर लडेकी थिइन्।
ती प्रहरीले तुरुन्तै भक्तपुर जगाती प्रहरी वृत्तमा खबर गरेपछि पीडित किशोरीको उद्धार गरिएको थियो।
किशोरीलाई पानीमा लठ्याउने चिज मिसाइ खुवाएर रत्नपार्कबाट भक्तपुर सूर्यविनायक पुर्याइ रातभरि बलात्कार गर्ने दिपेश फरार छन् भने बाँकी दुई अभियुक्त अहिले प्रहरी हिरासतमा छन्।
प्रहरीले उनलाई अहिले धुलिखेलमा रहेको ‘मानव कल्याण समाज (सेवा) घर’ मा राखेको छ। हिंसामा परेकाहरूलाई संरक्षण दिइरहेको यो संस्थाको ‘सेफ हाउस’ मा छिन् उनी।
१७ वर्षीया उनी आफ्नै दाजुबाट बलात्कृत भइन्। घरबाट निकालिइन्। अनि अहिले फेरि यो सहरमा बलात्कृत भइन्।
र, प्रहरीसँग उनले बिन्ती गरिन् ‘म त्यो घरमा जाँदै जान्नँ।’ उनीले प्रहरीलाई आफन्तको कुनै सम्पर्क पनि दिइनन्।
‘त्यही भएर हामीले उहाँलाई धेरै प्रेसर गरेनौँ र, एउटा संस्थाको जिम्मामा छोडेका छौँ,’ एक प्रहरी अधिकृतले भने। (आयोमेल डटकम)










