ललितपुर । शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आईतबार ललितपुरमा प्रारम्भिक दु्रत लेखाजोखा तालिम आयोजना गरिएको छ ।
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले युएनडिपीको सहकार्यमा सो तालिम सञ्चालन गरेको हो । ललितपुर महानगरपालिका– १६ र १९ मा सञ्चालन भइरहेको बहुप्रकोपीय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण गर्ने कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको कार्यक्रमका सहायक अधिकृत अभिषेक ओझाले जानकारी दिनुभयो ।
तालिम अवधिभर विपद्, नेपालमा विपद्, विपद् व्यवस्थापन चक्र, विपद् जोखिम व्यवस्थापन सम्बन्धी ऐन, कानून संघीय सरकारदेखि स्थानीय तहसम्म विपद्को संरचना र जिम्मेवारी, आधारभुत्त मानवीय सहयोग र मापदण्ड विपद् लेखाजोखा निर्देशिका परिचय र महत्व र प्रकारबारे सम्बद्ध व्यक्तिले आफ्नो प्रस्तुती राख्ने छ । तालिमका सहभागीहरुलाई यी विषयको प्रस्तुतीबाट विपद् जोखिमको बुझाई, प्रतिकार्य क्षमता अभिवृद्धिमा सघाउने विश्वास गरिएको युएनडिपीका प्रतिनिधि हिमाल ओझाले बताउनुभयो ।
सहभागीहरुलाई समूह छलफल, प्रश्न उत्तर, प्रयोगात्मक अभ्यास र विभिन्न श्रव्यदृश्यको माध्यमबाट तालिम दिइएको छ ।पहिलो चरणको तालिममा महिला समूह, विपद्मा कार्यरत युवा, नेपाल प्रहरी, नगर प्रहरी, दमकलका र विभिन्न टोल सुधार समितिका प्रतिनिधि गरी २५ जनाको सहभागिता रहेको छ । १९ वडालाई लक्षित गरी दोस्रो चरणको तालिम भने यही साउन १३ गते मंगलबार शुरु हुने सहायक अधिकृत ओझाले जानकारी दिनुभयो ।









