भक्तपुर । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणासम्बन्धी छलफल कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पतालले विशेषतायुक्त सेवा प्रवाह गरिने बताउनुहुँदै नगरबासीहरुको करबाट सञ्चालित भक्तपुर नगरपालिकाले गरिब वर्गलाई लक्षित गरी विभिन्न स्वास्थ्य सेवाहरु सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख रत्नसुन्दर लासिवाले भक्तपुरका सबै बालबालिकाहरुले खोप लिनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले प्रभावकारी ढंगले खोप अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधि नारायणप्रसाद के.सीले पूर्ण खोप सुनिश्चिचताबारे प्रस्तुतीकरण दिनुहुँदै नेपालमा रोटा भाइरसको जोखिम दिन प्रतिदिन बढ्दै गएको हुँदा नेपालमा साउनदेखि रोटा भाइरसको खोप सुरु हुने जानकारी दिनुभयो ।
त्यस्तै नगर स्वास्थ्य केन्द्र ब्यासीका कमलकेशरी राजचलले भक्तपुर नपाभित्रका वडाहरुको खोपको स्थितिबारे बताउनुहुँदै भक्तपुरमा बसोबास गर्ने सबै बालबालिकाहरुले पूर्ण खोप लिइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।










